इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल भारत भ्रमणमा निस्किएका छन् ।
वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिएर पौडेल भारतका विभिन्न धार्मिक पीठहरूको भ्रमणमा निस्किएका हुन् । 
इटहरीमा बजेट शून्यता भइरहेको बेला उनको भारत भ्रमणलाई जिम्मेवारीबाट पन्छिएको रूपमा चित्रित गरिएको छ ।
असार मसान्त सम्ममा बजेट पास गर्नै पर्ने संवैधानिक व्यवस्था भए पनि मेयर पौडेलले अनुसूची विनाको बजेट पास गर्ने तयारी गरेपछि नेकपा एमालेका जनप्रतिनिधिले विरोध जनाएका थिए ।
त्यही बिचमा उनले वडाध्यक्षलाई जिम्मेवारी दिएर भ्रमणमा निस्किएका हुन् । उपमेयर सङ्गीता चौधरी समेत पारिवारिक कारणले बिदामा रहेकाले वडाध्यक्षले जिम्मेवारी पाएको बताइएको छ । 
एमालेको बहुमत रहेको कार्यपालिका र नगर सभामा बजेट पास नभएपछि अनिश्चित कालका लागि नगर सभा स्थगित गरिएको छ । बजेट होलीडेको अवस्थामा रहेको इटहरी उपमहानगरपालिकाका विभिन्न शाखा महाशाखाले योजना कार्यान्वयन गर्न नसक्ने भएका छन् ।
वडा स्तरबाट छनौट भएर आएका योजना तथा कार्यक्रमको कार्यान्वयनको तयारी गर्ने समयमा कर्मचारी काम विहीन बनेका हुन् । अनुसूची बिना बजेट पास गर्न नदिने एमालेको अडानले मेयर पौडेललाई समस्या परेको छ ।
उता माओवादी केन्द्रले भने इटहरीका जनप्रतिनिधि असक्षम भएको बताइसकेको छ । 
मेयर पौडेलले सामाजिक सञ्जाल फेसबुकमा असार २० गते इटहरीको पत्रकारिताको विषयमा दिएको अभिव्यक्ति विवादित बनेको छ । मेयरको अभिव्यक्तिको विरोधमा नेपाल पत्रकार महासङ्घ सुनसरी आन्दोलनरत छ । मेयर पौडेलले दानापानी लिएर समाचार लेख्न गरेको भन्दै लगाएको आरोप पुष्टि गर्न र माफी माग्न महासङ्घले दबाब दिइरहेको छ । 
नेपाली काँग्रेस इटहरीको नगर सभापति समेत रहेका उनले कार्यवाहकको जिम्मेवारी उपसभापति कोविदजंग कार्कीलाई दिएका छन् ।