वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले आफ्नो दशौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको शिविरमा १ सय ३९ प्रिन्ट रगत सङ्कलन भएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिए ।
बिहीबार बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो ।
नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र तथा रगतको अभाव भइरहेको र यसले बिरामीहरूलाई समस्या बनाई राखेको हुँदा 'रक्तदान जीवनदान' भन्ने मूल नारालाई आत्मसाथ गरी नगरपालिकाले आफ्नो दशौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
नगरपालिकाले वर्षमा दुई पटक संविधान दिवस र नगरपालिकाको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू सहित ११ वटै वडाबाट स्थानीय सङ्घ, संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी, कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सशस्त्र प्रहरी बेस क्याम्प चतरा, निर्वाचन प्रहरी लगायत विभिन्न सामाजिक संस्था, क्लब लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नगरपालिकाले आफ्नो स्थापना भएको दिवसको अवसरमा दीप प्रज्वलन, सरसफाइ कार्यक्रम, रक्तदान लगायतका ३ दिवसीय कार्यक्रम आयोजना गरेको थियो । २०७३ साल फाल्गुन २७ गते हालको वराहक्षेत्र तत्कालीन वराह नगरपालिकाको रूपमा साबिकका ५ वटा वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकास समितिहरू मिलेर घोषणा भएको थियो ।


































































