धरान : झापाको भद्रपुरमा भएको किरात याकथुङ चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशनमा सहमतीय केन्द्रीय नेतृत्व चयन गर्ने परम्परा तोडिएको अवस्थालाई ब्रेक गरेर अन्तिम क्षणमा बचाइएको छ ।
महाधिवेशनको अन्तिम दिन आइतबार सहमतीय केन्द्रीय समिति निर्माण गर्ने सबै प्रयासहरू विफल भएपछि निर्वाचन प्रक्रियामा निवर्तमान अध्यक्ष प्रेम येक्तेन र उपाध्यक्ष डा.कमल तिगेला अध्यक्ष पदका उम्मेदवार थिए ।
यसअघि अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष गोविन्द लिम्बु सहित ३ जनाले उम्मेदवारी दिएकोमा उनले सहमतीय नेतृत्व चयनका लागि उम्मेदवारी फिर्ता लिएका थिए । बाँकी रहेका येक्तेन र तिगेला बिच एकले अर्कालाई नेतृत्व सुम्पने सहमति नहुँदा निर्वाचनको मतदान सुरु गरिएको थियो ।
निर्वाचन प्रक्रिया सुरु भई करिब ७ जनाले मतदान गरिसकेपछिको अवस्थामा निर्वाचन मण्डल समक्ष अध्यक्ष पदमा भएको मतदान रद्ध गरी उम्मेदवारी फिर्ता लिएका तेस्रो प्रत्याशी गोविन्द लिम्बुलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिदिन ३ जनाकै हस्ताक्षरमा लिखित निवेदन पेश गरियो ।
अन्तिम समय सम्म सहमतिका लागि प्रयासरत तमहाङहरु सहित तिनै जना दाबेदारहरू उपस्थित भई भएको लिखित आग्रह अनुसार निर्वाचन अधिकृत नरप्रसाद लिम्बुले मतदान भएका मतपत्रहरू बदर गरी गोविन्द लिम्बुलाई निर्विरोध अध्यक्ष निर्वाचित भएको घोषणा गरेका हुन ।
सहमतिका लागि चुम्लुङका पूर्व केन्द्रीय अध्यक्षव्दय अर्जुन लिम्बु, योगराज वनेम, राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बु, सल्लाहकार ध्रुव सुब्बा र हर्ष सुब्बाले योगदान पुर्‍याएका थिए ।
उक्त जानकारी धरानमा आयोजित सुनसरीबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यको स्वागत तथा पत्रकार सम्मेलनमा सल्लाहकार हर्ष सुब्बाले दिएका हुन । उनले भने ‘लिम्बुहरू व्दन्द गर्न मात्र होइन सहमति र सहकार्यमा पनि उत्तिकै सक्षम छन्, भन्ने उदाहरण नेतृत्वका लागि अन्तिम क्षणमा भएको सहमतिले प्रस्तुत गरेको छ ।’
लिम्बु पत्रकार सङ्घ सुनसरीले महाधिवेशनबाट सुनसरीका निर्वाचित केन्द्रीय उपाध्यक्ष डा.योगेन्द्र पालुङवा, केन्द्रीय सचिव सङ्गीता सुब्बा र केन्द्रीय सदस्य मोहनकुमार हुक्पाचोङबाङलाई स्वागत सम्मान तथा महाधिवेशनबारे जानकारीका लागि सोमवार कार्यक्रम आयोजना गरेको हो ।
समसामयिक प्रस्ताव
कार्यक्रममा नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष डा.योगेन्द्र पालुङवाले महाधिवेशव्दारा जारी समसमयीक प्रस्तुतमा गरिएका चुम्लुङको मागहरूको जानकारी गराए । 
महाधिवेशनले १८ बुँदे प्रस्तावमा प्रदेश सभामा भएको लिम्बु र मैथिली सरकारी कामकाजको भाषा विधेयक अविलम्ब पारित गर्नू पर्ने माग गरेको छ । याकथुङ लिम्बु आदिवासीहरूको थातथलो प्रजाति पुर्ख्यौली आस्थाको पवित्र भूमि मुक्कुम्लुङमा केबलकार निर्माण गर्न राज्यले सशस्त्र सुरक्षा बल खटाइ मुन्धुमी आध्यात्मिक क्षेत्रको सैनिकीकरण गरी सन्त्रासपूर्ण वातावरण बनाएकाले राज्यले ती सुरक्षा फौज तुरुन्त हटाउन माग गरेको छ ।
मुन्धुमीस्थल नष्ट हुने भएकाले इम्बिरी याङधाङवा नम्बर नदी क्षेत्रमा निर्माणाधीन जलविद्युत परियोजनाहरूलाई २०८० माघ २५ को सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको दायराभित्र ल्याई आवश्यक प्रक्रिया अघि बढाउन महाधिवेशनले अनुरोध गरेको छ ।
आदिवासी(जनजातिका लागि छुट्टै ‘आदिवासी अधिकार तथा सङ्घ संस्था ऐन’ आवश्यक भएको, याकथुङ÷लिम्बुको पुर्ख्यौली भूमिलाई रैकरकरण, वनकरण गर्दै भूमि खोसिएकोमा आपत्ति प्रकट गर्दै जनताका नाममा दर्ता भएका जग्गा बाहेकका सम्पूर्ण भूमि फिर्ता गर्न माग गरेको छ ।
सङ्घीय कार्यसमिति
महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा सङ्घीय अध्यक्ष गोविन्द आङबुहाङ, उपाध्यक्षमा निरन्ती तुम्बापो,चक्र एक्तेन  र  योगेन्द्र पालुवा छन् । महासचिव अमर तुम्याहाङ, उपमहासचिव भवानी सम्बाहाम्फे तथा ३ सचिवमा दिपा लक्सम, लक्ष्मण लावती  र सङ्गीता सुब्बा छन् । कोषाध्यक्ष कुमार जबेगु छन् । 
केन्द्रीय समिति सदस्यहरूमा गङ्गा राई सेर्मा, धर्मराज लक्सम्बा झापा,  सरस्वती तुम्बाहाम्फे, राम कुमार योङहाङ इलाम, फूल माया नेम्बाङ, महेन्द्र कुमार आङदेम्बे पन्थर, रीता मादेन, बालचन्द्र आङबुहाङ ताप्लेजुङ, सेसेहाङ हुक्पा चोङबाङ तेह्रथुम, मनकुमार लिम्बु सङ्खुवासभा छन् । 
यस्तै कमलदिप तिगेला सुब्बा, इन्द्र कुमारी आङ्बो धनकुटा,  धनकुमारी लिम्बु मोहनकुमार लिम्बु सुनसरी,  प्रवेश मिथक मोरङ,  डिल्ली माया थोक्लिहाङ योङहाङ काठमाडौँ, धन कुमार काम्बाङ काठमाडौँ, विष्णु माया सिङ्गक, टेक बहादुर लावती ललितपुर, राम बहादुर लिम्बु, सीता हुक्पा चोङबाङ भक्तपुर छन् ।
लिम्बुवान प्रदेशबाट  डा. मधुराज केरुङ, टङ्क माया लिम्बु, नरेन्द्रराज केरुङ, जितेन साङसेन पन्धाक, सागर केरुङ,मुना लिम्बु, नेवा ताम्सालिङ प्रदेशबाट भिमप्रसाद सुब्बा, रामकुमार सम्बाहाम्फे निर्वाचित हुनुभएको छ ।
chumlung-1
chumlung-2