इटहरी : १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ।

अन्तिम क्वार्टरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड र युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) दार्जिलिङ बिच प्रतिस्पर्धा हुने भएको हो ।

इटहरी रङ्गशालामा साँझ साढे ६ बजे सुरु हुने प्रतियोगिताको विजयी टोलीले सेमिफाइनलमा सातदोबाटो यूथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधवार सम्पन्न खेलमा सातदोबाटो यूथ क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।

वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।