इटहरी : इटहरी उपमहानगरपालिकामा दमकल नभएको कारण स्थानीय नागरिकमा त्रासको वातावरण सृजना भएको छ ।
बारम्बार आगलागी भइरहने इटहरीमा दमकल र विपद् व्यवस्थापनका उपकरणहरू नहुँदा समस्या पर्दै आएको हो । जेनजी आन्दोलनको क्रममा ३ वटा दमकल र अन्य करोडौँ मूल्यका उपकरणहरू जलेर नष्ट भए । जसको कारण उपमहानगरले ठुलो क्षति बेहोरिरहेको छ । फलस्वरूप इटहरीमा आगलागी वा अन्य कुनै विपद् भए छिमेकी पालिकाको भर पर्नुपर्ने बाध्यता देखापरेको हो ।
बजेट अभावको कारण देखाउँदै दमकल खरिद प्रक्रिया रोकिएको छ । मेयर हेमकर्ण पौडेलले वैशाख महिना भित्र दमकल आउने दाबी गरेपनि त्यसको ठोस आधार देखिएको छैन । उता आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले भने सुनसरीमा स्थापना गर्न लागेको आकस्मिक सेवा केन्द्र स्थगित गरेको छ । कोशी गाउँपालिकाले आवश्यक समन्वय नगरेपछि बजेट फिर्ता गएको हो ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आकस्मिक सेवा केन्द्रको अवधारणा ल्याइएको हो । इटहरी उपमहानगरपालिका जस्तो उपकरण नभएको र बजेट अभाव भएका पालिकाहरूले आपसी समन्वयका आधारमा सेवा केन्द्र स्थापना गर्न सक्ने भएका छन् । दुई देखि तीनवटा पालिकाले समन्वय गरेर मन्त्रालयमा प्रस्ताव पठाउँदा उपकरण सहितको सेवा केन्द्र स्थापना हुने आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलिले बताए ।
सेवा केन्द्र मार्फत आपत्कालीन अवस्थामा दमकल, एम्बुलेन्स र प्रहरी भ्यानजस्ता सेवा उपलब्ध गराउने लक्ष्य राखिएको मन्त्री पराजुलीले प्रष्टपारे । पहिलो चरणमा तराईका तीन र पहाडका तीन जिल्लामा केन्द्र स्थापना गर्ने योजना रहेको उल्लेख गरे । सुनसरीमा स्थगित भएको आयोजना इटहरीलाई केन्द्र बनाएर सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्विस सरकारको सहकार्यमा स्थानीय तहको २० प्रतिशत लागत साझेदारीमा यी सेवा केन्द्रहरू स्थापना भएका छन् । झापाको अर्जुनधारा, मोरङको रङ्गेली, धनकुटाको हिले, तेह्रथुमको आठराई र खोटाङमा सेवा केन्द्र स्थापना प्रक्रिया अघि बढिसकेको छ ।
प्रत्येक केन्द्रमा कम्तीमा तीन वटा दमकल, शव वाहन, उद्धार सामग्री तथा वाटर बोट लगायतका उपकरण रहने व्यवस्था गरिएको छ । जुन इटहरीको हकमा आवश्यक देखिन्छ । बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने केन्द्रहरूको लागत प्रति केन्द्र करिब ८ करोड देखि १४ करोड रुपैयाँ सम्म लाग्ने अनुमान गरिएको छ । बजेट अभाव भएको इटहरी, रामधुनी र दुहबी नगरपालिकाको आपसी समन्वयले सेवा केन्द्र स्थापना गर्न सकिने देखिन्छ ।

































































