धरान : नगर प्रमुख हर्क साम्पाङले बालिका माथि यौन दुर्व्यवहार भएको घट्नाको पनि सुनवाई आफै गर्दै पीडितलाई ‘आरोप प्रमाणित नभए माफी माग्न’ फेसबुकमा स्ट्याटस लेखेर चेतावनी समेत दिएका छन् ।
प्रमुख साम्पाङका समर्थक अन्दाजी वर्ष ५५/६० वर्षका श्रमदाताले धरान-१६ नौलो बस्तीकी एक बालिकालाई यौन दुर्व्यवहार गरेको कुरा हिजो बिहीबार युट्युब र सामाजिक सञ्जालमा भाइरल थियो ।

आज प्रमुख साम्पाङले दुर्व्यवहार प्रमाणित भए ‘म कारवाही गर्नेछु’ भन्दै आज शुक्रवार पीडितलाई समेत चेतावनी दिदैं स्ट्याटस लेखेका हुन ।
कानुनको दृष्टिमा गम्भीर अपराध मानिने बालिका यौन दुर्व्यवहारको कुरा नगर प्रमुखको क्षेत्राधिकारमा नपर्ने भए पनि मिलाएको आरोप धरान-१६ का वडाध्यक्ष मुरारी भट्टराईले लगाएका छन् ।
उनले भने ‘श्रमदाताले यौन दुर्व्यवहार गरेको कुरा हामीले उठाउँदा राजनीतिक नियतले विरोध गर्यो भनी आरोप लगाउँछन् भनेर चुप बस्यौँ ।’डेढ महिना अघि धरान-१६ बहुभाषिक पाठशाला पछाडि ग्याविन निर्माण गर्ने श्रमदाताले नौलो बस्तीकी बालिका माथि यौन दुर्व्यवहार गरेका हुन ।
प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले यौन दुर्व्यवहार गर्ने व्यक्तिले श्रमदाताको टिसर्ट लगाएका थिए तर उनको वास्तविक नाम भने थाहा नभएको बताए ।
स्थानीय दिलबहादुर श्रेष्ठले भने ‘मेयर साप र कुन्दन श्रेष्ठलाई भने त्यो मान्छे के हो राम्ररी थाहा छ ।’ उनका अनुसार श्रमदाता भोगेपछि स्थानीय एक युवाले समातेर ल्याए,मेनुका बिश्कर्माले पनि २/३ झापड हानिन् ।
स्थानीय अनुसार लगत्तै श्रमदान गर्ने मानिसहरू भेला भए श्रमदाता कुन्दन श्रेष्ठ श्रमदानको बदनाम हुन्छ भन्दै बालिका समेतलाई हल्ला नगर्न आग्रह गरे । श्रेष्ठले श्रमदातालाई ‘यो मान्छे मानसिक रोगी हो कुटनु धेरै हुँदैन केही भै हाल्यो भने तपाईँहरू लाई नै असर गर्छ ।’ समेत भनेको प्रत्यक्षदर्शीहरूको भनाई छ ।
बालिकाकी आमाले भनिन् ‘घटना भएकै हो तर तेति बेला घटना बाहिर ल्याउन दिएनन्, मैले १/२ झापड हाने, पछि छोरीलाई अप्ठ्यारो हुन्छ भनेर घटना बाहिर ल्याउन दिएनन् ।’
पीडित १३ वर्षीय बालिका सिता (नाम परिवर्तित)ले भनिन् ‘श्रमदाताले तिम्रो त कत्रो कत्रो,कस्तो राम्रो भन्दै जिस्काउने गर्थे, खानेकुरा किन्दिन्थे खुसी हुँदै खाएँ, उस्ले मेरो गर्लफ्रेन्डले छोटो छोटो लुगा लगाउँछ, तिमी पनि छोटो छोटो लुगा लगाऊ होइन हेर्न मजा आउँछ ।’ भन्दै नराम्रो कुराहरू गर्ने गरेको उनले बताइन् ।
ती श्रमदाताले बालिकालाई ‘तिम्रो छाती कत्रो कत्रो, कस्तो राम्रो रहेछ भन्दै ढाँड, छाँती र शरीर सुमसुम्याउँदै’ खानेकुरा किन्दिन्छु भन्दै जङ्गल तिर लगेका बालिकाले बताइन् । उनले भनिन् ‘जङ्गल पुगेपछी त्यो मान्छेले सबै लुगा खोल्यो ।" लुगा खोलेको देखेपछि मलाई आफन्तहरूले कराउँदै बोलाए पछि त्यो मान्छे भाग्यो ।’
बालिकाले त्यो मानिसलाई गाँलेहरुले लखेटेको समेत याद भएको बताइन् । घटना बारे वडाध्यक्ष मुरारी भट्टराईले भने ‘मेयर सावलाई समेत घटना विवरण थाहा छ, त्यो घटना उहाँहरू लुकाएकै हो ।’
आफूले पनि त्यति बेला बालिकासँग यौन दुर्व्यवहार थाहा पाएको बताउँदै उनले भने ‘घटना भएको केही बेर पछि घटना बाहिर ल्याउन खोज्दा मेयरले दिएनन्, घटना बाहिर ल्याउँदा विरोधी भन्छन् भनेर मैले पनि ल्याइन ।’