इटहरी : सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचन दुई पक्षमा विभाजित भएको छ । दलीय भन्दा पनि व्यवसायीक हिसाबमा दुई पक्षमा देखिएको निर्वाचनलाई सबैतिर चासोका साथ हेरिएको छ । धरानमा कार्यालय रहेको उवासंघ सुनसरीको निर्वाचनको प्रभाव इटहरी, रामधुनी, इनरुवा लगायत बजारमा समेत देखिएको छ ।
एकातर्फ गोपाल श्रेष्ठ र अर्कातर्फ शिवराज श्रेष्ठले उम्मेदवारी दिएका छन् । शिवराज पूर्व काँग्रेस हुन् । उनी उद्योग वाणिज्य सङ्घको अध्यक्ष बन्नकै लागि एमाले प्रवेश गरेका थिए । यसअघि विजय श्रेष्ठ सँग भारी मतान्तरले पराजित उनी पुनः अध्यक्षको दौडमा छन् ।
अघिल्लो निर्वाचनमा भन्दा यस पटक समस्यामा परेका छन् उनी । अघिल्लो निर्वाचनमा एमालेको सिङ्गो पार्टीले उनलाई समर्थन गरेको थियो । यस पटक भने एमालेका प्रभावशाली नेताहरू उनको विरुद्धमा भोट मागिरहेका छन् । नेपाली काँग्रेस, माओवादी लगायत दलहरूको साझा उम्मेदवारको रूपमा उभिएका छन् गोपाल । सुनसरीका व्यवसायीमाझ परिचित गोपाललाई पूर्व अध्यक्षहरूको समर्थनले थप बलियो बनाएको छ ।
पूर्व अध्यक्षहरू खजाञ्चीदास अग्रवाल, गौरीशङ्कर अग्रवाल, विजय डाँगा, पवन अग्रवाल, मोहनकाजी शाक्य, सरोज श्रेष्ठ, राजेन्द्र साह र गिरिधारी सापकोटाको समर्थन छ । बाँकी एक पूर्व अध्यक्षले भने प्रचार नगर्ने तर समर्थन गोपाललाई नै गर्ने बचन दिएका छन् । जसले गोपाललाई थप उत्साहित बनाएको छ ।
यसअघि २०७९ असार २२ गते सम्पन्न निर्वाचनमा विजय श्रेष्ठले अत्यधिक मतका साथ विजयी भए । त्यसबेला २९७६ मतदाताबाट २१९४ सदर मत त्यसमध्ये विजयले १२२५ पाए । प्रतिस्पर्धामै नआएका शिवराज ६३६ मत पाए । अर्का प्रतिस्पर्धी तथा पूर्व अध्यक्ष पवन अग्रवालले जम्मा ३३३ मत पाए ।
यस पटक भने पवन र विजय दुवै जनाको समर्थन गोपाललाई छ । गोपालको प्यानलमा यसअघिका कार्यकालमा विजयी भइसकेका अनुभवी व्यवसायीले उम्मेदवारी दिएका छन् । उनको प्यानलका उम्मेदवारहरू प्रभावशाली भएकैले गोपाललाई थप सहयोग पुग्ने देखिन्छ ।
व्यवसायी, राजनीतिक पार्टी देखि पूर्व अध्यक्षहरूको समेत समर्थन पाएका गोपाललाई पराजित गर्न नसक्ने अवस्थामा पुगेका छन् शिवराज । त्यसैले शिवराजको एउटै चुनावी एजेन्डा भनेको सिन्डिकेटको अन्त्य गर्ने हो । पूर्व अध्यक्षहरू सबैको समर्थन गोपाललाई भएपछि शिवराज अत्तालिएका छन् । जसको कारण उनले व्यवसायीको नेतृत्व हुनुपर्ने र सिन्डिकेटको अन्त्य हुनुपर्ने मुद्दा अगाडी सारेका हुन् ।
उता गोपालले भने धरानमा कोसेली घर निर्माण, औद्योगिक ग्राम स्थापनाको पहल, हटलाइन सेवा, प्रविधिमैत्री सचिवालय, पर्यटन प्रवर्द्धनमा जोड लगायत नवप्रवर्तन मार्फत युवालाई व्यवसायमा आकर्षित गर्ने एजेन्डा अगाडी सारेका छन् । धरानमा मध्यरात सम्म रेस्टुरेन्ट सञ्चालनको व्यवस्थापन गर्ने बताएका गोपाल व्यवसायीको पक्षमा उद्योग वाणिज्य सङ्घले गर्न सक्ने जति सम्पूर्ण गर्ने बाचा गर्छन् ।
शिवराज सिन्डिकेट तोड्ने एक मात्र लक्ष्य रहेको बताउँछन् । प्रतिरक्षाको अवस्थामा पुगेका शिवराजलाई विजयसँग प्राप्त गरेको मत कायम राख्न सकस देखिएको छ । विजय सँगको प्रतिस्पर्धामा दलीय प्रतिनिधित्व देखिए पनि यस पटक त्यस्तो देखिएको छैन । जसले गर्दा शिवराज झनै कमजोर बनेका छन् ।
कुल मतदाता २९०७ बाट अध्यक्ष सहित १९ सदस्यीय कार्यसमिति चयन हुँदैछ । उद्योग सदस्यमा मीना राई मगर र बस्तुगत तर्फ नवीन तामाङ र नारायण लिम्बू निर्विरोध भइसकेका छन् । सोमबारको निर्वाचनमा वाणिज्य सदस्यमा ९ जना, उद्योग सदस्यमा ४ र एसोशिएट्समा ३ जनाको लागि प्रतिस्पर्धा हुने भएको छ ।