इटहरी : शिक्षकहरूको आन्दोलनका कारण इन्जिनियरिङ अध्ययन संस्थान अन्तरगत पूर्वाञ्चल क्याम्पस धरानमा लामो समयदेखि कक्षा सञ्चालन हुन नसकेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आपत्ति जनाएको छ । शिक्षकहरू आन्दोलित भइरहेको अवस्थामा पठनपाठन बन्द भएको भन्दै क्याम्पस प्रशासनको ध्यान आकर्षण गराएको हो । 

प्राध्यापक सङ्घले विकेन्द्रीकरण तथा संस्थागत स्वायत्तताको माग गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाउँदै दैनिक कक्षा सञ्चालनको विषयमा गम्भीर बन्न आग्रह गरेको छ । आन्दोलनरत शिक्षकहरू हाजिर गर्ने तर पढाउन कक्षाकोठा नजाने प्रवृत्तिले अध्ययनको वातावरण बिग्रिएको स्ववियुको ठहर छ ।

हाजिर गरेर नपढाउने शिक्षकको सेवा सुविधा बन्द गर्न माग गर्दै विद्यार्थीको अधिकार सुनिश्चित गर्न क्याम्पस प्रमुखलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।  

तत्काल पठनपाठन सुरु नभए सिनियर फर जुनियरको हिसाबले कक्षा सञ्चालन गरिने भएको छ । माथिल्लो कक्षाका विद्यार्थीले तल्लो तहका विद्यार्थीलाई पढाएर भए पनि कक्षा सुचारु गर्ने स्ववियु सभापति सागर बस्यालले बताए ।

आइतबार क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै सभापति बस्यालले थप आन्दोलन गर्नुपरे त्यसको जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनी दिए ।

student-union-dharan-purwan