धरान : वीपी प्रतिष्ठानमा १८ वर्षीय एक किशोरीले बच्चा जन्मिएकी छन् । बच्चाको बाबुको पहिचान भने खुल्न सकेको छैन ।
किशोरी (नाम परिवर्तित) रिमाले बिहीबार वीपी प्रतिष्ठानको प्रसूति वार्डमा बच्चा जन्माएकी हुन् । उनलाई महिला सहयोगी संस्था इटहरीले, उद्धार गरी वीपी प्रतिष्ठान ल्याएको संस्थाकी अध्यक्ष विमला ठकुरी मल्लले बताइन् ।
अध्यक्ष मल्लले भनिन् ‘यौन हिंसा पीडित किशोरी आमा बन्न २ दिन अगाडी मात्र हाम्रो संस्थामा सहारा माग्दै आएकी थिइन ।’ फिल्डमा जानेक्रममा यौन हिंसा पीडित उनलाई भेटिएर उद्धार गरी संस्थाको अफिस ल्याइएको बताइएको छ ।
मल्लका अनुसार पीडित किशोरीको उद्धार गरेर संस्थामा ल्याउँदा उनले ८ महिनाको गर्भ भएको, यौन हिंसामा परेको, केटा पेट बोकाएर फरार भएको, फरार केटा पहिचान नभएको बताएकी थिइन् ।
उनले मान्छे देख्दा चिन्ने बताए पनि उनको फोटो नभएको बताएकी छन् । घर पूर्व बेलबारी बताएकी पीडित किशोरी कपडा पसलमा काम गर्ने गरेको र फरार केटा किराना पसलमा काम गर्ने गरेको बताएकी छन् ।
गर्भवती भएकी कारण दबाब दिएर सोधपुछ नगरेको बताउँदै अध्यक्ष मल्लले भनिन् ‘पछि पहिचान खुल्छ होला भनेर पहिले उद्धार गरिएको हो ।’ उद्धार गरेर लगत्तै इटहरी स्थित राधिका थापाको उद्यमी घर बुझाएको केही घण्टा पछि व्यथा लागेकोले उनिबाट विस्तृत विवरण लिन नसकिएको हो ।
व्यथा लगेपछि उनलाई २४ घण्टा परिवार नियोजन कार्यालय इटहरी लगियो । लगत्तै कोशी अस्पताल विराटनगर पुर्याइयो । त्यहाँबाट रेफर भई वीपी प्रतिष्ठान ल्याइएको बताइएको छ । अध्यक्ष मल्लले भनिन् ‘सबै मिलेर बच्चाको बुबाको पहिचान खुलाउने काम गरौँ भन्ने मेरो अनुरोध छ ।’
घटना, सुत्केरी र बच्चाको बारेमा जिल्ला प्रशासन कार्यालय इटहरी उपमहानगरपालिकाको उपमेयर सचिवालय, जिल्ला प्रहरी कार्यालय सुनसरीमा संस्थाले आवश्यक जानकारी सहित पत्राचार गरेको छ ।
महिला सहयोगी संस्था
किशोरीलाई उद्धार गर्ने महिला सहयोगी संस्था इटहरीमा कार्यालय रहेको महिला सहयोगी संस्था हो । अध्यक्ष मल्लका अनुसार संस्थाले यौन व्यवसायी, यौन श्रमिक महिलाहरू र एचआइभी एड्स लागेका महिलाहरूलाई उद्धार गर्दै आएको छ ।
होटेल, रेस्टुरेन्ट, क्याबिनमा काम गर्नेहरूलाई मोबाइलबाट साथी बनाएर यौन हिंसा, यौन रोग बारे जानकारी दिँदै यौन रोग उपचार गर्ने र भविष्यकाबारे जानकारी गराउँदै बचत गर्ने बानीको विकास गर्ने काम गर्दै आएको छ ।