इटहरी : इटहरी उपमहानगरपालिकामा बजेट होलीडेको कारण उपमेयर भएको पूर्वमेयर द्वारीकलाल चौधरीले आरोप लगाएका छन् । नेकपा एमालेका नेताहरू विरुद्ध लागेका एमाले पार्टी र उपमेयर सङ्गीता चौधरी गैरजिम्मेवार भएको कारण बजेट होलीडे भएको बताएका हुन् ।

उपमेयर चौधरीको व्यक्तिगत स्वार्थले बजेट आउन नसकेको दाबी गरेका उनले मेयर हेमकर्ण पौडेलको बचाउ गरेका छन् । पूर्व मेयर द्वारीकलाल चौधरीले उपमेयर चौधरीले आफ्नो स्वार्थको लागि केही करोड मागेको र त्यो रकम नपाएपछि विरोध जनाएको बताएका छन् । एमालेको दम्भको कारण बजेट रोकिएको उनको भनाइ छ ।

इटहरी उपमहानगरले गत असार १० गते २ अर्ब ५५ करोडको बजेट पेश गरे पनि पास हुन सकेको छैन । मेयर पौडेलले योजनाको अनुसूची उपलब्ध नगराई बजेट पास गर्न खोजेपछि उपमेयर चौधरी सहित एमाले जनप्रतिनिधिले विरोध जनाएका थिए । असार मसान्त सम्ममा बजेट पास हुनुपर्ने संवैधानिक व्यवस्था विपरीत इटहरी उपमहानगरपालिकामा बजेट होलीडे भएको हो ।

उता उपमेयर चौधरीले भने पूर्व मेयर जस्तो गरिमामय व्यक्तीले भ्रम सृजना गराएको बताएकी छिन् । पूर्व मेयरलाई आरोप पुष्टि गर्न चेतावनी दिँदै आफ्नो के स्वार्थले बजेट होलीडे भएको हो भन्ने खुलाउन आग्रह गरेकी छिन् ।

मेयर पौडेलले ७ वटा बस खरिदको तयारी गरिरहेको बेला आफूहरूले विरोध जनाएको उनको भनाइ छ । आधारभूत विद्यालयको स्तरोन्नति नगरी सम्पन्न विद्यालयमा बस दिने कुरा न्यायसङ्गत नभएको उनले बताइन् ।