धरान : आफन्तजन गुमाएका नेवार समुदायका परिवारहरूले आपसमा समवेदना मृतकप्रति श्रद्धाञ्जली सहित आज आइतबार धरानमा गाईजात्रा पर्व मनाएका छन् ।
सिद्धि नेवा: परिषद्बाट निस्किएको सामूहिक गाईजात्रा छाताचोक, टेलिकम, पुरानो बजार, भानुचोक हुँदै परिषद् भवनमा पुगेर समापन भएको छ ।
दिवागत व्यक्तिका सम्झनामा परिवारका सदस्य गाईको मुकुट लगाई बजार परिक्रमा गर्ने चलन नेवार जातीको पर्व गाईजात्रा हो । यसो गर्दा एक वर्ष भित्र मृत्यु भएकाले वैतरणी पार गर्ने धार्मिक विश्वास रहेको परिषद्का महासचिव मोहन श्रेष्ठले बताए ।
उनका अनुसार यसपालिको गाईजात्रामा २३ परिवारले गाईजात्रा निकालेका छन् । राजा प्रताप मल्लले पुत्रशोकमा परेकी रानीलाई अरूले पनि यस्तै शोक व्यहोर्नु परेको देखाउन मृत्यु भएका व्यक्तिको नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएको कथन छ ।