धरान : विश्व बजारमा आएको खाद्य प्रविधिको नयाँ आयाम र आवश्यकताका आधारमा त्रिवि खाद्य प्रविधि विषय समिति ४ वर्षे स्नातक तह बिटेकको शैक्षिक पाठ्यक्रम परिमार्जन गर्दै सेमेष्टर प्रणालीको तयारीमा लागेको छ ।
धरानमा शुक्रवार सम्पन्न २ दिने कार्यशाला गोष्ठीमा खाद्य प्रविधि केन्द्रीय विभाग प्रमुख सहप्राध्यापक बबिता अधिकारी दाहालले उक्त जानकारी दिएकी हुन । अबका दक्ष प्राविधिक जनशक्ति खाद्य उद्योगको समस्या तथा व्यवस्थापकीय पक्षमा पनि जानकार हुनुपर्ने अवस्था रहेकाले पाठ्यक्रममा सम्बद्ध पक्ष उद्योगपतिहरूको सुझाव समावेश गर्न गोष्ठी आयोजना गरिएको उनले बताइन् ।
नेपालमा पहिलो पटक २०३६ देखी धरान स्थित केन्द्रीय प्रविधि क्याम्पसमा खाद्य प्रविधिको ४ वर्षे विटेक सुरु भएको थियो । २०८० सम्म वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन भएको विटेक २०८१ देखी सेमेष्टर प्रणालीमा गएको छ ।
विभाग प्रमुख सहप्राध्यापक बबिताका अनुसार त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय काठमाण्डौको सहयोगमा हाल २ सेमेष्टरको पाठ्यक्रम तयार भई पठनपाठन भइरहेको छ । खाद्य प्रविधि विषय समिति बाँकी ६ वटा सेमेष्टरको पाठ्यक्रम तयार गर्न द्रुत गतिमा लागेको उनले बताइन् ।
वार्षिक परीक्षा प्रणालीको पाठ्यक्रममा कुल २० वटा विषय पढाई हुन्थ्यो । ८ सेमेष्टर प्रणालीमा कुल विषय ४५ रहेको छ । वार्षिकमा पूर्णाङ्क २००० को पढाई हुन्थ्यो भने सेमेष्टर प्रणालीमा ३५०० को हुने उनले बताइन् ।
उनले भनिन् ‘अहिलेको विश्व बजारमा योग्यता साबित गर्न सक्ने खाद्य प्रविधिको दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँ प्रणाली र पाठ्यक्रमको विकाशमा लागेका छौँ ।’ केन्द्रीय क्याम्पसमा पढेका दक्ष विद्यार्थीहरू अहिले विदेश तथा स्वदेशका खाद्य उद्योगहरूका उच्च ओहदा सम्म पुगेका छन् ।
नयाँ पाठ्यक्रमका लागि खाद्य प्रविधिका राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञहरु रहेको विषय समितिका १२ जना सदस्यहरू जुटेको सहप्रा.दाहालले बताइन् । यसै क्रममा धरानमा औद्योगिक व्यवस्थापन पक्ष सहितको कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
‘इण्डष्ट्री-एकेडेमीया डाइलग’ विषयक कार्यशालामा कोशी प्रदेशका १० प्राविधिक व्यवस्थापन विज्ञहरू सहित प्राध्यापक, विद्यार्थी ४० जना सहभागी थिए । गोष्ठी पूर्व केन्द्रीय खाद्य प्रविधि विभाग प्रमुख प्राडा. धनबहादुर कार्कीको अध्यक्षतामा भएको थियो । खाद्य प्रविधिका प्राध्यापक, वर्तमान क्याम्पस प्रमुख वसन्त राई सहित प्राध्यापकहरू गोष्ठीमा सहभागी थिए ।