धरान :पब्लिक हाईस्कुल धरान–१२ का कक्षा ६ देखि ९ का ४१ विद्यार्थीलाई रेडियो र स्याटलाइट प्रविधिको ४ दिने तालिम दिइएको छ । अन्तरिक्ष प्रतिष्ठान र पब्लिक हाईस्कुलको सहकार्यमा आयोजना गरिएको विद्यालय स्तरीय ‘अमेच्योर रेडियो तथा स्याटलाइट बुट क्याम्प’मा विद्यार्थीहरूले सञ्चार सम्बन्धी तालिम लिएका हुन । तालिममा कक्षा ६ देखि ९ सम्मका ४१ जना विद्यार्थी सहभागी थिए । 
तालिमको समापनको अवसरमा बुधवार धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले अन्तरिक्ष प्रतिष्ठान नेपालको सहयोग तथा विद्यालयको पहलमा सञ्चालन गरिएको बुटक्याम्पले विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधिप्रति थप आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
तालिममा सहभागी विद्यार्थीहरूलाई अमेच्योर रेडियो सञ्चालन,स्याटलाइट प्रविधि,सर्किट निर्माण,सोल्डरिङ तथा रेडियो सञ्चार प्रणाली सम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।
तालिममा सहभागी विद्यार्थीहरूले सञ्चार उपकरण निर्माण गरेका छन् । उनीहरूले निर्माण गरेका स्याटलाइट,एन्टिना र रिमोट कार अन्तरिक्ष प्रतिष्ठानले विद्यालयलाई हस्तान्तरण गरेको छ ।
समापन कार्यक्रमको अध्यक्षता स्कुलका प्रधानाध्यापक इन्द्र मोहन झाले गरेका थिए  । अन्तरिक्ष प्रतिष्ठान परियोजना प्रबन्धक कृति दाहाल, संस्थापक डा. आभास मास्के लगायत प्रशिक्षकहरू,व्यवस्थापन पूर्व अध्यक्ष हरि कार्की समापनमा उपस्थित थिए ।
it-traning