वराहक्षेत्र : शुक्रवारदेखि वराहक्षेत्र नगरपालिकामा चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १० विजयी भएको छ।
वडा नं ११ लाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं १० विजयी भएको छ । जितसँगै वडा नं १० ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गरेको छ । पराजित भएको वडा नं ११ भने प्रतियोगिताको नकआउट चरणबाट नै बाहिरिएको छ । 
खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा नं १०  का विपिन कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरेका थिए । पहिलो चरणमा नकआउट र दोस्रो चरणमा नकआउटमा विजयी भएका टिम बिच लिग फर्म्याटमा खेलहरू आयोजना गरिनेछ । 
प्रतियोगिता अन्तर्गत अनकाउट चरण अन्तर्गतको दोस्रो खेल शनिवार वडा नं १ र वडा नं. ४ का बिच हुनेछ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं. ७ देबिघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए।
नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा नगर प्रमुख कार्कीले खेलाडी प्रोत्साहन र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार,  प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि, सुनसरी जिल्ला फुटबल सङ्घका वरिष्ठ उपाध्यक्ष भेषराज कार्की विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सुरक्षा निकायका प्रमुख, वडा सदस्यहरूको उपस्थिति रहेको थियो।
"खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान" भन्ने नारा दिएको प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ