वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
सोमवार नगरपालिकाले १६औँ नगर सभा मार्फत स्वास्थ्य, शिक्षा, कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै नगर उपप्रमुख नन्दकुमारी सुनुवारले १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।
सभामा नगर प्रमुख रमेश कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा कृषि, पर्यटन प्रवर्द्धन र पूर्वाधारमा जोड दिएको छ । नगरवासीहरूको पहुँचमा स्वास्थ्य सेवा, आधारभूत तथा आकस्मिक सेवामा सबै नगरवासीहरूको सर्व सुलभ, सहज र समान पहुँचको सुनिश्चितता गर्न प्रतिबद्धता, चतरा अस्पताल र नगर अस्पतालमा आवश्यकता भौतिक संरचना निर्माण, एम्बुलेन्स र शव वाहन परिचालन र व्यवस्थापनलाई सूदृणीकरण गरी नगर क्षेत्र भित्र एम्बुलेन्स र शव वाहन सेवा उपलब्ध गर्ने योजना, सुरक्षित मातृत्व एव प्रजनन स्वास्थ्य प्रवर्द्धन, प्रत्येक वडामा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन सहित ज्येष्ठ नागरिकहरू तथा दिर्घरोगीहरुको घर घरमा पुगेर नियमित स्वास्थ्य जाँच, स्वास्थ्य सेवाको बिस्तार, नगरको जिम्मेवारी भन्ने नाराका साथ सबै नागरिकमा गुणस्तरीय आधारभूत स्वास्थ्यको सेवा पहुँच सुनिश्चित गर्दै आधारभूत सेवालाई घरदैलामा पुर्‍याउने पहल गरिने, आर्थिक रूपमा विपन्न परिवार लाई निःशुल्क एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गरिने छ ।
नसर्ने रोगको पहिचान तथा उपचारका लागि घुम्ती शिविर कार्यक्रम गरिनेछ । 'स्वस्थ सहर, कुपोषण रहित वराहक्षेत्र नगर' अभियानलाई सफल बनाउन ५ वर्ष मुनि बालबालिकालागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।
नगर अस्पताल र चतरा अस्पतालमा रहेको प्रयोगशालालाई स्तरोन्नति गरी विस्तारित सेवा सहित रोग निदानको सेवालाई बिस्तार गरिने त्यस्तै उक्त अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था गरिने कार्यलाई समेत नीति तथा कार्यक्रममा राखिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरूको लागि एम्बुलेन्स खर्च बापत प्रदान हुँदै आएको सुत्केरी सुविधालाई निरन्तरता दिइनेछ ।
स्वास्थ्य चौकीहरूमा रहेका प्रयोगशालाहरूको क्षमता विकास , विद्यालय पुगेर विद्यार्थीको आँखा परीक्षण, ज्येष्ठ नागरिक घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइएको छ । स्वास्थ्य बिमालाई प्रभावकारी बनाइने र आर्थिक रूपमा कमजोर परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई नीति कार्यक्रमै राखिएको छ ।
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माण कोलागि सङ्घीय सरकार सँग पहल गरी ५० शय्या क्षमताको अस्पतालको रूपमा स्तरोन्नति गर्न सङ्घीय सरकार सँग सार्थक पहल गरिने चतरा अस्पताल र मधुवन प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
योग र आयुर्वेद, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, विपन्न वर्गलाई रगत वडाको सिफारिसको आधारमा ब्लड बैङ्कबाट रगत लिँदा लाग्ने रकम नगरले भुक्तानी गरिदिने, स्वास्थ्य चौकीहरू, मधुवन प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशाला ,सेवा र भौतिक संरचनालाई जोड दिएको ।
शिक्षातर्फ अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अवधारणा बमोजिम शिक्षालाई अगाडि बढाइने, उपचारात्मक कक्षा, अभिभावक शिक्षा कार्यक्रम सञ्चालन, विज्ञान प्रविधि शिक्षाको विकास, संस्कार सहितको गुणस्तरीय शिक्षा, समाजको मूल आधार हो भन्ने अवधारणालाई आत्मसाथ गर्ने, 'वराहक्षेत्र नगरपालिकाको इच्छा छोरी र बुहारी शिक्षा' भन्ने अभियानलाई अगाडि बढाउने, पढ्दै कमाउँदै कार्यक्रम ल्याउने, चतराको आदर्श मावि र भरौलको जडेज माविमा प्राविधिक धार पढ्न चाहने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने, सप्तकोसी र वराह आदर्श क्याम्पसलाई आवश्यक सहयोग र दुवै क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गरिने, विद्यालयलाई नतिजा र स्तरको आधारमा प्रोत्साहन र सहयोग, विद्यालय सुधार कालागि अभिभावकसँग अन्तर्क्रिया, विज्ञ सहितको अनुगमन, विद्यालयलाई जङ्ग फुड मुक्त बनाउने, विद्यालयको भौतिक पूर्वाधार र सौन्दर्यीकरण कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखिएको छ ।
बिद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कार, प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूलाई विद्यालय सुधार योजना निर्माण सम्बन्धी तालिम, उपचारात्मक कक्षालाई निरन्तरता दिइएको छ ।विद्यालयको अनुगमनलाई प्रभावकारी बनाई गुणस्तरीय शिक्षामा जोड दिइने छ ।
कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य सहित स्वास्थ्य, शिक्षा, कृषि,पशुपन्छी विकास, पर्यटन, पूर्वाधार तथा भौतिक विकास, सामाजिक विकास, सामाजिक सेवा एवम् सुशासन प्रवर्द्धन, वन वातावरण भूमि तथा भू-संरक्षण, युवा तथा खेलकुद विकास, खानेपानी तथा सरसफाइ, सहकारी, रोजगारी, सीप विकास लाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइनेछ ।
त्यस्तै कृषिमा कृषि एम्बुलेन्स सञ्चालन ल्याई कृषकहरूले उत्पादन गरेको कृषि उपजहरूलाई सङ्कलन गरी बजारीकरणको गर्ने प्रयास गरिनेछ ।
शीत लहर, फलफूल उत्पादनलाई वृद्धि गर्ने, कोशी टप्पुको जमिनको सदुपयोग गर्ने 'कृषक र उद्यमी, वराहक्षेत्र नगरको साथी' जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको छ ।
श्रीलङ्का टप्पुमा सामूहिक खेती, उत्पादनका आधारमा अनुदान, अर्ग्यानिक कृषि उत्पादनलाई प्रोत्साहन, कृषकलाई कृषि औजार अनुदान, सामूहिक किसिमको खेतीलाई प्रोत्साहन, कृषि बिमा कार्यक्रम, पौरखी किसानलाई सम्मान, शीत भण्डारलाई पूर्ण रूपले सञ्चालन ल्याइने कार्यक्रम तय गरिएको छ ।
पशुपालनमा नश्ल सुधार कार्यक्रम, दूध र दुग्धजन्य प्रवर्द्धन र विविधीकरण, दुग्ध व्यवसायीसँग साझेदारी, माछा पालन व्यवसाय प्रवर्द्धन, महामारी नियन्त्रण र न्यूनीकरण, पशुपक्षी चिकित्सा सेवा व्यवस्थापन, कृत्रिम गर्भधारण प्रोत्साहन निःशुल्क गर्भधारण सेवा सञ्चालन, भेटनरी अस्पताल निर्माण , पशुपन्छी महामारी जन्य रोगहरू फैलिएमा पशु सेवा विज्ञको रेस्पोन्स टिम बनाइनेछ ।
नगरपालिकालागि पर्यटक प्रवर्द्धन गर्न धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा प्रचार प्रसार गरी पर्यापर्यटनहरुलाई जोड दिइने छ ।
पर्यटकीय पदमार्गको प्रवर्द्धन, कोशी पर्यटन वर्षलाई सफल बनाउन धरतीको पहिलो तीर्थ वराहक्षेत्र जाऔँ, रमणीय कोशी, कुम्भ क्षेत्रको प्रवर्द्धन, वराहक्षेत्र, धरान र इटहरीलाई धार्मिक सर्किटको रूपमा जोड दिइने छ ।
श्रीलङ्का टप्पुमा होम स्टे कार्यक्रम सञ्चालन गरिनेछ ।
कोशी किनार क्षेत्रमा पर्यटकीय गतिविधिलाई बढाउन सम्भाव्यता अध्ययन तथा पूर्वाधार विकासकालागि आवश्यक पहल गरिनेछ । ऐतिहासिक, पुरातात्त्विक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण संवर्धन, वराहक्षेत्र मन्दिर परिसरमा सञ्चालन होटेललाई पर्यटन मैत्री बनाउन आतिथ्य सम्बन्धी तालिम, पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ ।
पर्यटकीय क्षेत्रको विकासमा चतरा स्थित कोशी किनारमा सन्ध्या आरती सुरु गरिनेछ ।सहकारी संस्थाको अनुगमन,नियमनलाई प्रभावकारी बनाइनेछ ।बजार अनुगमनलाई प्रभावकारी बनाइने ।
अव्यवस्थित बसोबास, सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्न पहल गरिने छ । कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्ने देखी अव्यवस्थित बसोबास समाधान लगाएका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरपालिकाबाट सञ्चालित अधुरा तथा क्रमागत आयोजनालाई प्राथमिकता दिइनेछ । सहरी तथा ग्रामीण क्षेत्रमा सडक तथा यातायातको पहुँच बिस्तार गरिनेछ ।
नगरका सहरी क्षेत्रमा ६० तथा ४० प्रतिशत लागत साझेदारीमा सडक कालोपत्रे गर्न कार्य गरिनेछ । वराहक्षेत्र नगरपालिकामा राष्ट्रिय योजना भित्राउन पहल गरिनेछ ।
सभामा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, भौतिक पूर्वाधार सहित सामाजिक विकाश सम्बन्धी, सार्वजनिक सेवा एवं सुशासन प्रवर्द्धन सम्बन्धी, पशुपन्छी विकास सम्बन्धी, सहकारी, बजार व्यवस्थापन, भौतिक विकास ,राजस्व परिचालन एवं स्रोत अभिबृद्बि सम्बन्धी, सामाजिक विकास सम्बन्धी, सार्वजनिक सेवा एवं सुशासन प्रवर्द्धन सम्बन्धी, बन, वातावरण भूमि भु:संरक्षण सम्बन्धी, युवा तथा खेलकुद विकास र खानेपानी तथा सरसफाइ सम्बन्धी योजनाहरू नगर प्रमुख रमेश कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सभामा नगर प्रमुख कार्कीले प्रस्तुत गरेको नीति कार्यक्रम, उपप्रमुखले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम, आर्थिक विकास समितिका संयोजक तेजबहादुर गुरुङले सभामा पेस गरेको वराहक्षेत्र नगरपालिकाको आर्थिक विधेयक-२०८२ र वराहक्षेत्र नगरपालिकाको विनियोजन विधेयक-२०८२ सम्बन्धी विधेयकमाथि मङ्गलवारबाट छलफल गरिने छ ।
नगर सभाको उद्घाटन समारोहमा सगरमाथा आरोही चन्द्रकला राई, ११ जना ज्येष्ठ नागरिकहरू, कृषि उद्यमी, करदाता, खेलाडी ज्यु, पत्रकार, शिक्षक, कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । उद्घाटन समारोहमा वराहक्षेत्र नगरपालिका निवर्तमान वडाध्यक्षहरू, राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरू, सङ्घ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको आतिथ्य रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले स्वागत मन्तव्य राखेको समारोहको सञ्चालन आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले गरेका थिए ।
यस्तो छ बजेट :
आर्थिक वर्ष ०८२ /०८३ को लागि नगरपालिकाले आन्तरिक आय ७ करोड ३६ लाख ५१ हजार अनुमान गरेको छ । नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई राखिएको छ ।
४७ करोड १ लाख (चालु तथा पुँजीगत समेत) सशर्त अनुदान र १९ करोड ३४ लाख वित्तीय समानिकरण अनुदान (सङ्घ) को आधारमा बजेट तर्जुमा गरिएको छ ।
सङ्घबाट हुने राजस्व वाडफाँडमा १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै समपूरक अनुदान सङ्घबाट ३ करोड ४१ लाख, प्रदेशबाट सशर्त अनुदान (चालु तथा पुँजीगत समेत) २ करोड ३० लाख ५६ हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड ११ लाख ८१ हजार , विशेष अनुदान सङ्घ ७५ लाख, समपूरक अनुदान प्रदेशबाट १ करोड, वित्तीय समानिकरण अनुदार प्रदेशबाट १ करोड ८२ लाख ५० हजार गरी कुल १ अरब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ आय अनुमान गरेको छ ।
भन्ने चालु खर्च १५ करोड ८८ लाख, वडा कार्यालय (पुँजीगत) ८ करोड ८० लाख, पुँजीगत बजेट (नगर तर्फ) २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ, सशर्त अनुदान (सङ्घ) ४७ करोड १ लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ३० लाख ५६ हजार, समपूरक अनुदान (प्रदेश) १ करोड, समपूरक अनुदान (सङ्घ) ३ करोड ४१ लाख, विशेष अनुदान ७५ लाख गरी कुल १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँ रहेको छ ।
bajet-baraha