इटहरी : इटहरी उपमहानगरपालिका कार्यालयको छेवैबाट सङ्गीत चोक निस्किने घुम्तीमा सडक भत्किएको एक वर्ष भयो । खाल्डोमा पानी जमेर दुर्घटना हुनु सामान्य जस्तो भइसकेको छ । कालोपत्रे भत्किएर खाल्डो भएपछि कङ्क्रिटले पुर्ने काम भए पनि प्रभावकारी भएको छैन । 

इटहरीको सबैभन्दा व्यस्त बजारमा पर्ने सङ्गीत चोकमा पनि त्यही अवस्था छ । दुईबर्ष देखि भत्किएको सडक स्थानीय व्यवसायीले टालटुल गर्ने गरेका छन् । व्यावसायिक क्षेत्र आइतबारेको मुख्य चोकको दुर्दशा पनि त्यस्तै छ । कलेज, स्कुल तथा व्यावसायिक गतिविधिको चलायमान क्षेत्रमा सडक भत्किएको दुईबर्ष पुरा भए पनि मर्मत भएको छैन । 

स्थानीय व्यापारी गोमा ढकाल कसलाई कहाँ गएर गुनासो गर्ने बारे अन्योल भएको बताउँछिन् । सडक भत्किएको कारण प्रत्यक्ष रूपमा व्यापारमा घाटा भइरहेको बताउँदै उनले कुनै दिन बनिएला भनेर पर्खिएको बताइन् । आइतबारेको व्यस्त सडकमा पर्ने टेलिकम लाइनमा खाल्डा परेको महिनौँ भए पनि पुरिएको छैन । दीपेन्द्र चोक देखि बसपार्क सम्मको सडकको हबिगत झनै खराब छ । सडक मर्मत भएको केही महिनामै खाल्डाखुल्डी उस्तै हुने भएकाले बसपार्क आउने जाने आगन्तुकले सास्ती बेहोर्नु परेको छ । यात्रु मात्र हैन व्यवसायीको समस्या उस्तै छ । 

बसपार्क रोडमै व्यवसाय गरिरहेका राजीव साहले ६ वर्षदेखि एउटै समस्या भोग्नुपरेको बताए । बोल्ने मान्छे नभएको कारण आफूहरू हेपिएको उनले महसुस गरेका छन् । उनले भने, ‘पानी परेका दिन १० वटा भन्दा बढी दुर्घटना हुन्छन् । अस्ति भर्खरै एउटा बाइक चालकको खुट्टामा ठुलो चोट लाग्यो । यस्ता धेरै मान्छे लडेर घाइते भएका छन् ।’ सबै जनताको गुनासो सुन्ने बाकस राख्नुपर्ने र नाम गोप्य राखेर गुनासो अनुसारको काम गर्न उनले मेयर हेमकर्ण पौडेललाई सुझाव दिए । 

त्यस बाहेक मुख्य राजमार्ग क्षेत्रका झनै समस्या छ । एसियन हाइवे निर्माणको प्रक्रिया सुरु भएको भन्दै मर्मत नगरिएको राजमार्गको सडकले दुर्घटना बढाइरहेको छ । बर्सातको समयमा पानी जमेपछि दुई पाङ्ग्रे र तिन पाङ्ग्रे सवारी डुब्ने गरेका छन् । 

सहरको यस्तै दुरावस्था अन्त्य गर्न इटहरी उपमहानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स खरिद गरेको एक वर्ष भइसकेको छ । सडक तथा अन्य भौतिक संरचना भत्किएको अवस्थामा तत्काल मर्मत गरेर सम्भावित जोखिमको अन्त्य गर्ने उद्देश्यले खरिद भएका साधनहरू अहिले खिया लाग्न थालेका छन् । 

सोही प्रयोजनमा ९३ लाख ९९ हजारमा खरिद भएको ग्रेडर उपमहानगरपालिकाको कम्पाउण्डमा थन्किएको छ । ५४ लाख ४५ हजारको अर्को रोलरले पनि काम पाएको छैन । इन्फास्ट्रक्चर एम्बुलेन्सको नाममा २३ लाख ८७ हजारमा खरिद भएको सामान बोक्ने ट्रलीले समेत काम पाएको छैन । एक करोड ७० लाखका सडक तथा भौतिक संरचना मर्मतका उपकरणहरू थन्किएका हुन् । यसरी काममा नपाएर इन्फ्रास्ट्रक्चर एम्बुलेन्स अन्तरगतका साधनहरू प्रभावकारी भएका छैनन् । 

इटहरी उपमहानगरपालिकाका पूर्वाधार विज्ञ इन्जिनियर अर्जुन दाहाल भर्खरै कार्यविधि निर्माण भएकाले सञ्चालनको तयारी भइरहेको बताउँछन् । कार्यपालिकाबाट कार्यविधि पास भइसकेको र यसको सञ्चालन मोडालीटी तयार भएकाले चाडै नै यसले प्रभावकारी काम गर्ने उनको भनाइ छ । 

उपमहानगरपालिकाले बनाएको कार्यविधिमा निजी क्षेत्रलाई भाडामा लगाउन सकिने उल्लेख छ । उपमहानगरपालिका भित्र प्रयोगमा नआएको समय निजीलाई भाडामा दिएर आम्दानी गर्न सकिने गरी कार्यविधि तयार भएको हो । यसअघि विद्युतीय बसको हकमा पनि निजीलाई सञ्चालनको जिम्मा लगाउनेगरि कार्यविधि तयार भइसकेको छ ।

itahari-sadak-2