धरान : कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले धरान छाता चौक स्थित पुरानो अस्पतालबाटै प्रथम सेवा केन्द्र सुरुवात गर्न जनशक्ति सहित आवश्यक पूर्वाधार,उपकरण प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश मन्त्री राईले आज सोमवार बिहान पुरानो अस्पताल भवनको निरीक्षण भ्रमणमा आउँदा उक्त प्रतिबद्धता जनाएका हुन । उनले बिमा बोर्डको कोशी प्रदेश संयोजकलाई मन्त्रालयमा बोलाएर छलफल गरी अस्पतालको अवस्था अवलोकन गर्न पठाएको पनि बताए ।
निरीक्षणमा आएका मन्त्री राईले भने ‘सङ्घीय सरकारको नीति अनुसार बिपी प्रतिष्ठानबाट बिमा सेवाको प्रथम केन्द्र हट्दा दरानवासीलाई समस्या भएकोले पुरानो अस्पतालबाट सुरु गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने भएको छ ।’
बिपीको स्वामित्वमा गएको जग्गा पुनः धरान अस्पतालको नाममा गराउन आफूले पहल गर्ने बताए । मन्त्री राईले हाल प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका छन् । 
उनले भने ‘धरानमा नगर अस्पताल बनाउन स्थानीय सरकारले पहल गरे अस्पतालमा डाक्टर पठाउने जिम्मा प्रदेश सरकारले लिन्छ ।’ जग्गा प्राप्तिका लागि प्रदेश सरकारले सङ्घीय सरकार, बिपी प्रतिष्ठानसँग समन्वय गर्ने उनको भनाई छ । 
मन्त्री राईले जग्गा प्राप्तिका लागि सङ्घीय मन्त्रीपरिषद्बाट नै निर्णय हुनुपर्ने र क्याबिनेटमा फाइल पुगेमा निर्णय गर्न सम्भव हुने स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग कुरा भएको उनले बताए ।
निरीक्षणको क्रममा मन्त्री राईसँग राजनीतिक दलहरूको तर्फबाट नेपाली काँग्रेसका सभापति श्याम पोख्रेलले पुरानो अस्पतालमा धरान नगर अस्पताल बनाउन कानुनी अवरोध भएकोले बिपी प्रतिष्ठानबाट जग्गा पुनः नगरपालिकालाई फिर्ता गराउन सहयोगको लागि आग्रह गरेका थिए । 
नगर अस्पताल स्थानीय सरकारले मात्र बनाउन नसक्ने भएकोले प्रदेशले पनि सहयोग गर्न आवश्यक रहेको उनको भनाई थियो । सभापति पोखरेलले बिमा सेवाको प्रथम केन्द्र असोज मसान्त पछि पनि सुविधा निरन्तरता नभए समस्या आउने भएकोले आवश्यक पहल गर्न आग्रह गरेका थिए ।
अस्पताल निरीक्षणमा मन्त्री राईसँग पुर्वमेयर तिलक राई, धरान–१ का वडाध्यक्ष यज्ञमणि आचार्य, उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, राजनीतिक दलका नेताहरू सहभागी थिए ।
mantri-bhupendra