धरान : नगर प्रमुख हर्क साम्पाङको कार्यकक्ष सफारीको कर छुटको माग गर्दा भएको दोहोरो भनाभनको भिडियो युट्युबमा सार्वजनिक भएपछि फेसबुकमा गाली बेइज्जती गर्नेहरू विरुद्ध सफारी चालक रिना लामाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

सफारी कुर छुटको विवादमा प्रमुख साम्पाङले बोलेको कुरा काटेर आफ्नो मात्र कुरा राखेपछि हर्क साम्पाङ समर्थकहरूले फेसबुकमा अश्लील शब्दहरू प्रयोग गरी गालीगलौज गरेका छन् । रिना लामालाई नराम्रो शब्द प्रयोग गरी गालीगलौज गरेको विरोधमा फेसबुकमै धेरै त्यसो गर्नेलाई कानुनी कारबाही गर्ने माग गरेको कुरा पनि भाइरल भएको छ ।

रिना लामाले इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुलाई लिखित रूपमा साइबर क्राईम गर्ने विरुद्ध निवेदन दिएकी हुन। निवेदनमा गाली बेइज्जती गर्ने कुमारी राई, सबिन राई, सोम थापा, केबि गुरुङ १७१२, जीवन लामा लगायत ११ जनाको नाम उल्लेख छ।

उनले भनिन् ‘१० बर्ष लागे पनि मलाई गाली बेइज्जती गर्नेहरू विरुद्ध मुद्दा लड्छु ।’ सफारी चलाक लामाले युट्युबर इन्द्र लिम्बुलाई समेत साइबर क्राईममा मुद्दा दर्ता गर्ने बताएकी थिइन् । उजुरी दिएको भोली पल्ट युट्युबर लिम्बुले माफी मागेका छन् ।

युट्युबर लिम्बुले आफूले गल्ती गरेको भन्दै रुँदै माफी मागेको लामाले बताइन् । लिम्बुले अव देखि भिडियो काटेर एक पक्षीय ढङ्गले भिडियो सार्वजनिक नगर्ने भनी प्रतिबद्धता जनाएको लामाको भनाई छ ।

उजुरी दर्ता लिँदै डिएसपी प्रकाश जवेगुले गाली बेइज्जती गर्नेहरूलाई साइबर क्राईममा कारबाही हुने बताए । उनले भने ‘चाडै ती व्यक्तिहरूको खोजी अनुसन्धान गरी साइबर अन्तर्गत कारबाही गरिने छ ।’ लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ, कसैको स्वतन्त्रताको अधिकार माथि सामाजिक सञ्जालमा मनपरी बोल्न लेख्ने विरुद्ध कारबाही हुने उनको भनाई छ ।