धरान : सार्वजनिक यातायातका गाडीहरूमा यात्रुहरूबाट प्रहरीले गाँजा फेला पारे गाडीका चालक र सहचालक पनि कारबाहीमा पर्ने जानकारी प्रहरीले दिएको छ ।
सार्वजनिक सवारीलाई गाँजा तस्करले ओसार पसारको माध्यम बनाउन थालेपछि यातायात व्यवसायी, प्रहरी र सवारीका कर्मचारीको सयुक्तरुपमा सचेतना मङ्गलवार आयोजित कार्यक्रममा प्रहरीले त्यस्तो जानकारी दिएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले प्रहरीले निजी, सार्वजनिक सवारी, एम्बुलेन्स समेतलाई कडा चेकजाँच हुन थालेपछि गाँजा कारोबारीले सार्वजनिक सवारीसाधनमा ओसारपसार गर्न थालेको नयाँ तथ्यहरू फेला परेको बताए ।
उनले भने ‘प्रहरीले सार्वजनिक सवारीसाधनमा पनि कडाई गर्न थालेपछि सवारी चालक र सहचालक पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।’
डिएसपी जवेगुले कालो प्लेटका सार्वजनिक सवारी साधनका यात्रुसँग शङ्कास्पद वस्तुहरू बोकेर यात्रा गरेको समयमै चालक, सहचालकलाई जानकारी हुनुपर्ने उनको भनाई छ । 
उनले भने ‘गाँजा बोकेर यात्रा गरे तुरुन्त कारबाही गछौं, चालक, सहचालकलाई प्रहरीले त्यस्तो सामान बरामद ग¥यो भने कानुनी फन्दामा हामी पर्न सक्छौँ भन्ने ज्ञान हुनुपर्छ ।’
यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेशको आयोजनामा इलाका प्रहरी,जिल्ला ट्राफिक प्रहरीको सहकार्यमा भएको सचेतना कार्यक्रममा पहाडी रुटमा चल्ने गाडीहरूमा सचेतना मुलक स्टिकर टाँसिएको थियो ।
महासङ्घ प्रदेश संयोजक सरोज श्रेष्ठले व्यवसायी र बसका कर्मचारी पनि पीडित हुनुपरेकाले  गैर कानुनी कारोबारलाई निरुत्साहित गर्न अभियान थालिएको बताए ।
यात्रुवाहक गाडीमा गाँजाको पोका भेटिएको तर कुन यात्रुको हो भन्ने पहिचान नखुल्दा बसका कर्मचारी, व्यवसायी कानुनी दायरा आउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए । 
श्रेष्ठले भने ‘लुगा बोक्ने ब्रिफकेकमा, झोलाभित्र पोका बनाएर बोकेका हुन्छन्, प्रहरीले पनि अनुसन्धानको क्रममा स्टाफकै मिलोमतोमा हो कि भनेर झमेलामा पारेका कारण अभियान गर्नु परेको हो ।’
डिएसपी जबेगुले चालक र सहचालकहरूलाई पनि सचेत गराउनको लागि स्टिकर टाँसेर सजग गराइएकोले भविष्यमा यस्तो घटनामा कमी आउने अपेक्षा व्यक्त गरे ।
sticker gaja