धरान : हिन्दु धार्मिक पावन पर्व कृष्ण जन्माष्टमीको समापनमाको अवसरमा आज आइतवार धरानमा २ बजे देखी ‘श्रीकृष्ण रथयात्रा’ सुरु हुने कृष्ण जन्माष्टमी समारोह समितिले जनाएको छ । 
धरानमा यसपाली हुने रथयात्राले २१ वर्ष पुरा गरेको गीता भवन सञ्चालक सञ्चालन समितिका उपाध्यक्ष प्राडा.गोपालप्रसाद भण्डारीले बताएका छन् ।    
विराटनगरमा कृष्णाष्टमी समापनमा निकालिने राधाकृष्ण रथयात्रा नेपालको सबै भन्दा वृहत् तथा ऐतिहासिक मानिँदै आएको छ । विराटनगरमा यसपाली आज दिउँसो ३ बजे निकालिने रथयात्राले ५७ औँ वर्ष पुरा गरेको छ ।
धरानमा गीता भवन देखी निकालिने रथयात्रा छाता चौकबाट लक्ष्मी चौक, पुरानो बजार, भौडीचौकबाट भानु चौक हुँदै गीता भवनमा आएर विसर्जन गरिने जनाइएको छ ।
गीता भवनका उपाध्यक्ष प्राडा. भण्डारीका अनुसार यसपाली भक्तजनले डोरीबाट तान्ने रथको व्यवस्था गरिएतापनी धरानको भूगोल र प्राविधिक कठिनाइका कारण सवारी साधनबाटै रथयात्रा गराइएको भएको छ ।
विराटनगरमा रथयात्राको अवसरमा आज आइतवार बिहान महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना व्यक्त गरेका छन् । उनले रथयात्रालाई एसियाकै दोस्रो ठुलो मानिएको उल्लेख गर्दै रथयात्रालाई भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न उनले सम्पूर्ण भक्तजनलाई आह्वान गरेका छन् ।
उनका अनुसार यस पटक रथयात्राको तयारीलाई थप व्यवस्थित बनाउन महानगरपालिकाले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । यसपाली नयाँ र आकर्षक रथ निर्माण गरिएको, भक्तजनको ध्यान आकर्षण र केन्द्रित गर्न सहयोग पुर्‍याउने विश्वास मेयर कोइरालाले व्यक्त गरेका छन्  ।
रथयात्रामा भक्तजनलाई मर्यादित र सुरक्षित रहन आग्रह गर्दै भीडको चापमा महँगा गरगहना नलगाउन, व्यक्तिगत सामानको सुरक्षा गर्न, ज्येष्ठ नागरिक र बालबालिकाको विशेष ख्याल राख्न आग्रह गरिएको छ ।
यसपालिको ५७ औँ रथयात्रा पनि विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिँदै छ ।