इटहरी : इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले वर्तमान जनप्रतिनिधि अनियमिततामा संलग्न रहेको बताएका छन् । बुधवार पत्रकार सम्मेलन मार्फत इटहरी उपमहानगरपालिकामा अनियमितताको गन्ध आएको बताएका हुन् । 
नगरबासीको भविष्य माथी खेलबाड गर्दै समयमै बजेट नल्याएको र उपमहानगरपालिकालाई कर्मचारी भर्ती केन्द्र बनाएको उनको आरोप छ । इटहरी उपमहानगरपालिकाले सार्वजनिक सुनुवाइ नगरी प्रश्नबाट भागेको चौधरीले बताए । "इटहरी उपमहानगरपालिकाले हालसम्म किन सार्वजनिक सुनुवाइ गर्न सकेन ?" उनले प्रश्न गरेका छन्। 
तत्कालीन प्रदेश सरकारले समेटेको इटहरीको दीर्घकालीन बाढी नियन्त्रणका लागि बाहिरी चक्रपथ ४२ किलोमिटर रेखाङ्कन भएको योजना कार्यान्वयन नभएकोमा उनले ध्यानाकर्षण भएको जनाएका छन् । टेङ्ग्रा खोला डाइभर्सन गर्ने योजना अलपत्र परेको र इलाका प्रहरी कार्यालय इटहरीको भवन निर्माणको सम्बन्धमा चौधरी चासो दिएका हुन्। 
२५ शैयाको इटहरी अस्पताल १०० शैयामा स्तरउन्नति हुन नसकेको बताउँदै चौधरीले गरिब तथा विपन्न बालबालिकाको शिक्षामा पहुँच बढाउन इन्जिनियरिङ तथा मेडिकल तर्फको पढाइमा उपमहानगरपालिकाले बेवास्ता गरेको बताए । 
"सार्वजनिक सम्पत्तिको संरक्षण र जनहितमा उपयोग गर्नका लागि बषौदेखि अनाधिकृत ढङ्गले व्यक्ति तथा सङ्घसंस्थाले हडपेको जग्गा स्थानीय सरकारले संरक्षण तथा उपयोग गर्न सकेन। जिल्ला अदालत र उच्च अदालतको फैसलाले समेत डी.भि.एम. स्कुलले चर्चेको २ बिघा जग्गा विद्यालयको नाममा दर्ता अथवा भोग चलन गर्न नपाउने निर्णय भैसक्दा पनि सोही जग्गामा विद्यालय सञ्चालन छ। सरकार किन मौन छ ?," विज्ञप्ति मार्फत चौधरीले भनेका छन् । 
आफ्नो कार्यकालमा अगाडि बढाइएको इटहरी गौरवका आयोजनाहरू/ योजनाहरू (जनता पार्क, बहु जातीय संग्रालय, वडा नं. १५ को मोटरएबल पुल) अलपत्र परेको चौधरीले स्मरण गराए ।
dawarik-patrkar-samelan