झापा : घरनजिकै रहेको भालु खोलामा डुबेर दमकका ११ वर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान ७ बजे दमक वडा नं.१० बस्ने इन्द्र प्रसाईका छोरा ११ वर्षीय धर्मेन्द्र प्रसाई र सोही ठाउँ बस्ने कृष्णप्रसाद ढकालको छोरा ११ वर्षकै भूपेन्द्र ढकाल घरदेखि अन्दाजी २०० मिटर उत्तरमा रहेको भालु खोलामा पौडी खेल्न गएका थिए ।
त्यस क्रममा धर्मचन्द्रलाई खोलाले ६०० मिटर परसम्म बगाइरहेको अवस्थामा स्थानीयले देखेर उद्धार गरेका थिए । बालकलाई खोलाबाट निकाली उपचारको लागि निम्स अस्पताल दमक पठाएकोमा अस्पतालमा पुर्‍याउनसाथ डाक्टरले मृत घोषणा गरेका छन् ।
शव तत्काल सोही अस्पतालमा रहेको र अन्य अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।