इटहरी : सेन्टर फर डेमोक्रेटीक इन्जीनियर्स नेपाल (सिडेन) को महाधिवेशनले लोकतन्त्रवादी इन्जीनियरहरुलाई भ्याइनभ्याइ भएको छ । हरेक दुई वर्षमा हुने अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गर्ने विधानको व्यवस्था अनुरूप भदौ १४ गते निर्वाचन हुँदैछ । सोही अधिवेशनको दौरानमा केन्द्र र प्रदेशमा एकै पटक निर्वाचन हुने भएको छ ।
केन्द्रमा रवि भूषण झा र धनेन्द्र केसी प्यानल बिच प्रतिस्पर्धा हुँदैछ । सोही प्यानलको असर प्रदेशसम्म नै परेको छ । कतिपय उम्मेदवार एक अर्कालाई सघाउने गरी आन्तरिक तयारीमा भएपनि दुई प्यानल बिचको प्रतिस्पर्धा रोचक देखिएको छ ।
कोशी प्रदेशमा भने महेश धिताल र भरत कुमार न्यौपाने बिच प्यानल बनाएरै प्रतिस्पर्धा हुँदैछ । धितालले केन्द्रमा केसीको प्यानलबाट प्रदेशमा उम्मेदवारी दिएको बताएका छन् । न्यौपाने भने झाको प्यानललाई सघाउने गरी प्रदेश अध्यक्ष बन्ने तयारीमा छन् । प्रदेश उपाध्यक्षमा भने राजु तामाङ सर्वसम्मत भइसकेका छन् ।
धिताललाई नयाँ र युवा इन्जिनियरको समर्थन छ भने न्यौपानेले वर्तमान प्रदेश समितिको साथ खोजिरहेका छन् । धितालले भने व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् । नेतृत्वमा ऊर्जा र आशा दुवै हुनुपर्ने मुद्दा लिएर अगाडी बढेका धिताल निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छन् ।
धितालले सम्पूर्ण पदाधिकारी तथा सदस्यमा प्यानलै उम्मेदवार हुँदा न्यौपाने पक्षमा विवाद देखिएको छ । जसको कारण मनोनयन र चुनावी प्रचारमा असर परेको छ । धितालको पक्षबाट सचिवमा शिव नन्दन मण्डल, सहसचिव सविन खड्का र कोषाध्यक्षमा प्रतीक्षा कोइरालाले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै सदस्यहरूमा जङ्गबहादुर यादव, हेमनारायण माझी, सचिन श्रेष्ठ, रोशन शर्मा, समीर हुसेन, प्रभास गौतम, सिद्धार्थ कार्की, नारायण पण्डित र राजन कुमार साह उम्मेदवार छन् ।
न्यौपाने प्यानलबाट सचिवमा सचीन्द्रकुमार यादव, कोषाध्यक्ष उज्ज्वल देव र सदस्यहरू राहुल कुमार शर्मा, नन्दनी चौधरी, कृष्ण कुमार मण्डल, रबिन भट्टराई, देवेन्द्र कुमार रौनियार, दिलीप कुमार यादव, विवेक गुप्ता र पङ्कज ठाकुरले उम्मेदवारी दिएका छन् । सुरुमा न्यौपानेलाई समर्थन गरेका प्रदेश अध्यक्ष विकास भट्टराई आफू पक्षका आकाङ्क्षीलाई टिममा नअटाएपछि रुष्ट छन् ।
भट्टराईले केही पदमा छुट्टै उम्मेदवार उठाएका छन् । भट्टराईको पक्षबाट सचिवमा सुमन थापा, सहसचिव सुजित शर्मा र सदस्यहरू राजकुमार ढकाल र विश्वबन्धु लिङ्देन उम्मेदवार बनेका छन् । ४०८ मतदाता रहेको कोशी प्रदेशको निर्वाचन परिणाम रोचक बन्ने देखिएको छ ।