धरान : बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवाग्राहीहरूलाई सुविधा प्रदान गर्न रिफरल ओपिडी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै एक पटक शुल्क दिएर लिएको ओपिडी कार्ड पुन: दर्ता गर्नु नपर्ने भएको छ ।
प्रतिष्ठानले नयाँ भिसी साउन २८ गते प्राडा विक्रम प्रसाद श्रेष्ठले पद बहाली गरेपछि आन्तरिक सुधारको सेवाग्राहीको सुविधा केन्द्रित पहिलो कदम भदौै ८ गते आईतबार देखि लागु हुने भएको छ । 
सामान्य तथा सानो सुधार लागेता पनि शुल्क बुझाउन र कार्ड बनाउन लाइनमा बस्नुपर्ने सेवाग्राहीले यसलाई धेरै सजिलो बनाएको बताएका छन् ।   
अस्पताल निर्देशक डा. जगत प्रसादले बिहीबार नयाँ नियमबारे परिपत्र गर्दै रिफरल ओपिडी सेवा प्राप्त गर्न कुनै पनि अतिरिक्त शुल्क नलाग्ने बताएका छन् । परिपत्रमा साधारण ओपिडी कार्डको अवधि १० दिन भित्र काउन्टर गई पुनः दर्ता गरिरहनु नपर्ने व्यवस्था भएको उल्लेख छ । 
प्रतिष्ठानका अस्पताल निर्देशक डा. प्रसादले सबै निकाय तथा विभागहरूलाई परिपत्र जारी गरेको छ । स्वास्थ्य बीमा कार्यक्रममा भने ओपिडी सेवाको हकमा दैनिक दर्ता गर्नुपर्ने व्यवस्था भएको परिपत्रमा उल्लेख छ । 
प्रतिष्ठानले गत वर्ष २०८१ असोज ८ गते देखि लागू गरिएको अन्तर विभागीय रिफरल ओपिडीमा उपचारका लागि आउने सेवाग्राही र जेनेरल ओपिडीमा आएका बिरामीले लिएको ओपिडी कार्ड १० दिन भित्र काउन्टर गई पुनः दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो ।  
स्थानीय नागरिक समाज तथा विभिन्न सरोकारवालाहरूबाट प्रतिक्रिया, गुनासो बढी आएकाले निर्णय सच्याइएको प्रतिष्ठानले परिपत्रमा जनाइएको छ ।
bpkihs