धरान : धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तिलक राईले वर्तमान नगर प्रमुख हर्क साम्पाङ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कोकाहा १ र २ योजनाको अडिट रिपोर्ट माग गरेका छन् ।
प्रमुख साम्पाङले कोशी प्रदेश सरकारले धरानलाई खानेपानी थप्नका लागि चारकोशे जङ्गलमा गरेको ३ वटा डिपबोरिङ वेलको ‘टेक्निकल र फाइनान्सियल अडिट’को सार्वजनिक सुनवाई नगरे सम्म खानेपानी बोर्डले जिम्मा नलिने भनी बताएको समाचार प्रकाशित भएपछि पूर्व प्रमुख राईले कोकाहा १ र २ को अडिट रिपोर्टको खोजी गरेका हुन ।
तिलक राईले लेखेका छन् ‘वाह, मेयर हर्क, टेक्निकल र फाइनान्यिल अडिट विना प्रदेश सरकारको खानेपानी नलिने, स्याबास, अनि कोकाह १ र २ योजनाको अडिट चाहिँ खोइ ? की समीर जी र दत्त जी नै हो अडिटर ।’
खानेपानी बोर्डका अध्यक्ष समेत रहेका प्रमुख साम्पाङले धरानमा खानेपानीको परिमाण थप्नका लागि कोशी प्रदेश सरकारले गरेको ३ वटा डिपबोरिङ वेल तत्काल जिम्मा नलिने बताए पछि उक्त बेलहरू अझ अलपत्र पर्ने भएको छ ।
पूर्व प्रमुख तिलक राईको स्ट्याटसले प्रमुख साम्पाङले देश बाहिरबाट समेत करोडौँ रुपैयाँ चन्दा सङ्कलन गरेर कोकाहा १ र २ प्रोजेक्ट चलाएको औँल्याएको छ । त्यो पानी खानेपानी बोर्डको ट्याङ्कीमा झार्दा त्यसको हिसाब किताब अडिट केही सार्वजनिक गर्न नपर्ने तर प्रदेश सरकारको बोरिङ वेल जिम्मा लिँदा अडिट चाहिले ? भनी प्रश्न उठाएका हुन ।
गत: सोमवार प्रमुख साम्पाङ सहित उपप्रमुख अइन्द्र विक्रम बेघा, प्रदेश सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई र खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप बान्तवा सहितको टोलीले सोमवार ३ वटै वेलको अनुगमन गरेको थियो ।
अनुगमनकै क्रममा प्रमुख साम्पाङले डिपबोरिङहरु अहिले खानेपानी बोर्डको स्वामित्वमा ल्याउन नसकिने बताए हुन । उनले सबका अघि भनेका थिए ‘टेक्निकल र फाइनान्सियल अडिट, सार्वजनिक सुनुवाइ गरेपछि मात्र आयोजना बोर्डले जिम्मा लिन्छ ।’
प्रदेश सरकारले दीर्घकालीन खानेपानी परियोजना सुचारु नभईजेञ्जल राहतका लागि आर्थिक वर्ष २०८०र०८१ मा ठेक्का मार्फत १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयाँमा ३ वटा डिपबोरिङ गरेको हो ।
नगर प्रमुख साम्पाङले ‘टेक्निकल र फाइनान्सियल अडिट, सार्वजनिक सुनुवाई’ कुरा उठाएर वेल तत्काल जिम्मा नलिने कुरा गरेपछि प्रदेश सरकारमा अधिकारीहरूले वेल जिम्मा लगाउने भन्दा अनुगमन गर्न मात्र आएको बताएका थिए ।
मन्त्रालयका सचिव प्रदीप वान्तवाले भने वेल टेस्टको कामको अनुगमन मात्र गरिएको बताए । खानेपानी मन्त्रालयका मेकानिकल इन्जिनियर निश्चल पोख्रेलले ३ वटा बोरिङ, १ सय केभिएको डिजेल जेनरेटर, कन्ट्रोल प्यानल बोर्ड जडानसँगै प्रक्रिया सबै सकिएको बताएका थिए ।
अनुगमन टोलीमा सहभागी कोशी प्रदेशका सांसद रमेश बस्नेतको भनाई थियो ‘काम सम्पन्न भए पनि वेल टेस्टको कामको अनुगमन गरिएको हो, लिनु नलिनु उहाँ (नगर प्रमुख)को कुरा हो ।’