धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई धरानबाट गएको सर्वदलीय प्रतिनिधि मण्डलले आज शुक्रवार प्रतिष्ठानलाई छाता ऐनमा लैजान नहुने, विश्वविद्यालय बनाउनु पर्ने माग सहितको ध्यानाकर्षण पत्र बुझाएपछि जवाफमा उक्त विषयमा आफू सकारात्मक रहेको जवाफ प्रमण्डल टोलीलाई दिएका हुन ।
टोलीमा सहभागी काँग्रेस नगर सभापति श्याम पोखरेलले प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै भने ‘प्रधानमन्त्रीले मैल चाहेको विषय पनि त्यही थियो, तपाईँहरूले पनि सही विषयवस्तु लिएर आउनु भयो भन्नु भयो ।’
पोखरेलले भने ‘प्रधानमन्त्रीले ध्यानाकर्षण पत्र पुरै पढेर सकारात्मक जवाफ दिनु भएकाले बिपी प्रतिष्ठानको विषय नीति निर्माणको अन्तिम तह सम्म पुर्याउन हामी सफल भएको ठानेका छौँ ।’
सरकारले ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ संसद्मा लगेर प्रतिष्ठान सहित ६ वटा स्वास्थ्य प्रतिष्ठानलाई एउटै छाता ऐनमा समेट्न खोजेपछि धरानबाट राजनैतिक दलहरूको सर्वदलीय प्रतिनिधि मण्डल काठमाडौँ गएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग समेत टोलीले भेटघाट गरेका थिए । सर्वदलीय टोलीमा नेपाली काँग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुब लिम्बू, एमाले कोशी प्रदेश सदस्य भीम ज्वाला राई र मौसम राई थिए ।
टोलीमा काँग्रेसकी कुसुम ओली आचार्य, हिमाल श्रेष्ठ, सरोज सिटौला, धरान-१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई मनोज लगायत थिए ।
टोलीले यस अघि पूर्व प्रधानमन्त्री प्रचण्ड, काँग्रेस महामन्त्री गगन थापासँग भेटघाट गरेका थियो । महामन्त्री थापाले बिपी प्रतिष्ठानको सवालमा आफू गम्भीर भएको बताउँदै छाता ऐन बिपीको सवालमा ल्याउन नहुने पक्षमा आफू रहेको र त्यसको लागि भूमिका खेल्ने वचन दिएका छन् ।
टोली अब काँग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग पुनः भेटघाट र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग समेत पुनः भेटघाट गर्ने माओवादी केन्द्र धरानका अध्यक्ष उद्धव लिम्बूले बताए ।
नेता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष लिम्बूले भने ‘हामी धरान फर्किदा परिणाम सहित फर्किने तयारीमा छौ ।’