चतरा : आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुनसरीका उपाध्यक्ष स्वर्गीय हिमाल राईका परिवारले उनको स्मृतिमा पत्रकारिता पुरस्कारका लागि नगद २ लाख रुपैयाँ फोनिज सुनसरीलाई प्रदान गरेको छ । 
वराहक्षेत्र-१ बयरवन स्थित निवासमा आज शुक्रवार स्वर्गीय राईकी श्रीमती पार्वती राई तुम्बाहाङफेले फोनिज सुनसरी अध्यक्ष सुनिल चौधरी र कोषाध्यक्ष स्वर्णिम राईलाई नगद २ लाख रुपया प्रदान गरेकी हुन । उक्त रकम स्वर्गीय राईका छोरा, छोरी र नातेदारहरू सहितले संयुक्त रूपमा प्रदान गरेका हुन ।
फोनिज सुनसरीले उक्त रकमको ‘हिमाल राई स्मृति अक्षयकोष’ स्थापना गरी त्यसको व्याजबाट आउने रकम वार्षिक रूपमा आदिवासी जनजाति पत्रकारलाई पुरस्कार प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ । 
सोही अवसरमा दाता पार्वती र फोनिज सुनसरी अध्यक्ष सुनिल तथा पूर्व अध्यक्ष जनकऋषि राईले सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरिएको थियो । पत्रमा प्रत्येक ५ वर्षमा सम्झौता अनुसार अक्षयकोष सञ्चालन भए/नभएको समीक्षा गरी नवीकरण गर्ने प्रावधान रहेको छ ।
स्वर्गीय हिमाल राई वराहक्षेत्रको चतरालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका अग्रज पत्रकार थिए । उनको ३ महिना अघि असामयिक निधन भएको थियो । 
उक्त अवसरमा श्रीमती पर्वताले स्वर्गीय श्रीमानको जीवन पत्रकारिता रमाउँदै बितेकाले उनका आत्मालाई सन्तुष्टि मिलोस् भन्ने परिवारको चाहना पुरा गर्न अक्षयकोष स्थापना गरिएको बताइन् । 
वरिष्ठ पत्रकार हर्ष सुब्बाले हिमाल राई स्मृति अक्षयकोषको स्थापनाले सुनसरीका आदिवासी जनजाति पत्रकारको हौसला बढाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
महासङ्घका पूर्व अध्यक्ष जनक ऋषि राईले अक्षयकोषको स्थापनाले फोनिजलाई आदिवासी जनजाति पत्रकारहरूको जिम्मेवार सङ्गठन बनाउन पनि योगदान गर्ने विश्वास व्यक्त गरे ।
वराहक्षेत्रका वरिष्ठ पत्रकार सन्तोष साहले हिमाल राई वराहक्षेत्रको पत्रकारितामा अग्रज, नयाँ पुस्ताका पत्रकारहरूका प्रेरणाको श्रोत रहेका बताउँदै अक्षयकोषको स्थापना वराहक्षेत्रको पत्रकारितामा नयाँ इतिहासको थालनी गरेको बताए ।
fonij