धरान : नगर प्रमुख हर्क साम्पाङले तालाबन्दी समेत गरी अवरोध गर्दै आएको प्रहरी चौकी भवन निर्माण गर्न उनलाई शनिवार घेराउ गरी स्थानीय जनताले सहमत गराएका छन् ।

धरान-१६ नौलो बस्तीमा निर्माणाधीन प्रहरी चौकी भवनको निर्माण रोक्न प्रमुख साम्पाङ आज पनि समर्थक सहित निर्माण स्थलमा पुगेका थिए । स्थानीय जनता पनि आक्रोशित भई त्यहाँ जम्मा भएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

आक्रोशित भिडले नगर प्रमुख सम्पाङलाई घेरा हालेपछि उनका समर्थक र स्थानीय जनता बिच झडप हुने स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शी स्थानीय दिलबहादुर श्रेष्ठले बताए । केही बेर तनावपूर्ण वादविवाद भएपछि प्रमुख साम्पाङ भवन निर्माण नरोक्ने कुरामा सहमत हुन बाध्य भए ।

उनले स्थानीय जनतालाई ‘अव उप्रान्त प्रहरी चौकी बन्न केही समस्या नहुने’ वचन दिए । साथै प्रहरी चौकी र बहुभाषिक पाठशालाको सीमा निर्धारण गरी पर्खाल लगाउने र सोही स्थानमा चौकी बन्ने आश्वासन दिँदै निर्माण स्थलबाट हिँडे ।

यसअघि प्रमुख साम्पाङले ‘प्रहरी कट्टु सुकाउँछन्’ भन्दै प्रहरी चौकी बनाउन नहुने भनी सामाजिक सञ्जालमा स्ट्याटस समेत लेखेका थिए । लगत्तै कोसी प्रदेश सरकारको योजना तथा भौतिक मन्त्रालयलाई प्रहरी चौकी भवन निर्माण स्थगित गर्न पत्र समेत लेखेका थिए ।

गत बिहीबार राती प्रमुख साम्पाङ सहितको टोली आएर निर्माण स्थलको गेटमा ताल्चा लगाएका थिए । शुक्रवार बिहान स्थानीय जनताका बिच वडाध्यक्ष मुरारी भट्टराईले उक्त ताल्चा फुटाएर निर्माण कार्य सुचारु गराएका थिए । प्रहरी चौकी प्रदेश सरकारको लगानीमा बन्न लागेको हो ।

उपप्रमुख बेघाको भनाई 

नगर उपप्रमुख आइन्द्र विक्रम बेघाले आजको घट्नाबारे प्रतिक्रिया दिँदै विधि र विधानको अगाडी व्यक्तिको केही नलाग्ने बताए । उनले भने ‘धरानमा विधिलाई स्थापित गरी संस्थागत गरेर धरान जुरुक्क उठेर अगाडी बढ्छ ।’ जनताको जायज माग पुरा गर्न जे केही झुक्नु पर्ने उदाहरण आजको घट्नाले दिएको उनको भनाई छ ।

वडा अध्यक्ष मुरारी भट्टराईले स्थानीय बासिन्दा र वडाले स्वास्थ्य चौकी र प्रहरी चौकीलाई घेरा लगाउँदै पर्खाल निर्माण गर्न पटक पटक भन्दै आए पनि नगर प्रमुखले निर्माण रोक्ने कदम चालेको बताउँदै भने ‘तर आज स्थलगत छलफलमा जनताको आक्रोशित भिड देखेर मेयर लचकदार बन्नु भयो ।’

उनका अनुसार प्रमुख साम्पाङले बहुभाषिक पाठशाला र प्रहरी चौकी, स्वास्थ्य चौकी स्थल वरपर पर्खाल लगाउने सहमति गर्दै अव उप्रान्त केही समस्या नउब्जाउने कुरामा सहमति जनाउँदै हिँडेका हुन । उनले भने ‘यो विषयमा जनताको जित भएको छ , प्रहरी चौकी निर्माण हुन्छ ।’

छलफल उपप्रमुख बेघा, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाई, धरान-१८ का वडाध्यक्ष  नरेन्द्र राई प्रवीण, धरान-१५ वडाध्यक्ष नरेश ईवराम, स्थानीय र नगरप्रमुख साम्पाङ बिच भएको थियो ।