धरान : धरान-१६ स्थित सिद्धार्थ शिशु सदन स्कुलका एक शिक्षकले विद्यार्थीलाई कक्षामा निर्घात कुटपिट गरेको आरोप लगाउँदै अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।
उक्त स्कुलका कक्षा ५ मा अध्ययनरत विद्यार्थी सिद्धार्थ कटुवाललाई आज सोमवार शिक्षक प्रदिप सुवेदीले कुटपिट गरेका थिए । सिद्धार्थका पिता अभिभावक कटुवालले छोरा सहित कक्षाका अन्य विद्यार्थीलाई विनाकारण कुटपिट गरिएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका हुन ।
कटुवालले भने ‘छोरालाई विना गल्ती कुटिएकाले ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको छु ।’ उनले दोषी शिक्षकमाथि आवश्यक कारबाही हुनुपर्ने माग गरेका छन । कुटपिटका कारण विद्यार्थीको हातमा चोट लागेको र छाला समेत पिल्सिएको उनले बताए ।
स्कुलका प्रबन्धक निर्देशक विकास सोनीसँग फोन सम्पर्क गर्दा एसेम्ब्लीका क्रममा विद्यार्थीहरूबीच टाई तानातान हुँदा छुट्याउने क्रममा चोकेमा शिक्षकको हात ठोक्किएर घटना भएको बताए । उनले भने ‘घटना अन्जानमा भएको हो ।’
सोनीले कुटपिट गरियो भनिएका विद्यार्थी इमान्दार र मेहनती रहेको बताउँदै घटनाप्रति शिक्षक माफी माग्न तयार रहेको जानकारी दिएका छन । भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाउँदै उनले आज भएको घटनाप्रति दुःख व्यक्त गरेका छन ।


































































