इटहरी : इटहरी उपमहानगरपालिका कार्यालय प्रवेश लगत्तै जेनजी आन्दोलनमा जलेका गाडी र असरल्ल सामानले स्वागत गर्ने गरेका छन् ।
जलेर भग्नावशेष मात्र बाँकी रहेका गाडीहरू हटाएर सरसफाइ नगरी कार्यालयमा फुटेका झ्याल, बिग्रिएका सवारी र खरानी सजाइएको हो ।
जेनजी आन्दोलनको क्रममा इटहरी उपमहानगरपालिकामा मात्र एक अर्ब हाराहारी क्षति भएको अनुमान छ । उपमहानगरपालिकाले भर्खरै खरिद गरेका इन्फास्ट्रक्चर एम्बुलेन्स देखि रोलर र ग्रेडरसम्म ध्वस्त बनेका हुन् । भर्खरै खरिद भएका तीन करोड १३ लाख ८१ हजारका गाडीहरू चल्न नपाई खरानी भएका छन् ।
युनाइटेड हेभी इक्विपमेन्ट अर्थ मुभर्स प्रालीबाट ९३ लाख ९९ हजार ९९९ मा खरिद भएको मोटर ग्रेडर र ५४ लाख ५० हजारमा जगदम्बा कन्स्ट्रक्सन सोलुसन प्रालीबाट किनेको रोलर दुवै जलेर नष्ट भएका छन् । कवाडीको भाउमा समेत विक्री नहुने अवस्थामा पुगेका उपकरणहरू अझै असरल्ल छाडिएका छन् ।
२३ लाख ७८ हजार ९९९ मा खरिद भएको टाटाको मिनी ट्रीपर पनि जलेको छ । जेनजी आन्दोलनको क्रममा ९८ लाख ७५ हजार किनेको नयाँ दमकल सहित अन्य दुई वटा दमकल एकैसाथ जलाइएको थियो । जसको कारण इटहरी दमकल विहीन भएको छ । सोही क्रममा ४२ लाख ७८ हजारमा खरिद गरिएको फायर फाइटिङ भिएकल जलेर नष्ट भएको हो ।
नगर बसको रूपमा सञ्चालित विद्युतीय बस भने आन्दोलनबाट जोगिएका छन् ।
६ करोड ३६ लाख ८६ हजार ८ सयमा खरिद भएका चार वटै बस सुरक्षित भएका हुन् । त्यसमध्ये १ करोड ५९ लाखको एउटा बस टायर अभावमा उपमहानगरपालिका भित्रै थन्किएको छ । हालसम्म भुक्तानी समेत भई नसकेका बसहरू बिग्रन थालेका हुन् ।itahari-city-Bus
jaleka-ssama-ithari