धरान : पछिल्ला वर्षहरूमा कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइ धरान मेघा कलेज हुन थालेको छ ।

यस कलेजमा होटेल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको बढ्दो चापबाट पनि कलेजप्रतिको आकर्षण प्रस्ट हुन्छ । होटेल म्यानेजमेन्टका लागि बनाइएको अत्याधुनिक सुविधा सम्पन्न ल्याबका कारण पनि यहाँ विद्यार्थी–अभिभावकहरूको आकर्षण बढेको हो ।

यहाँ प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिने गरिएको छ । सैद्धान्तिक ज्ञानले मात्र होटेल म्यानेजमेन्टको शिक्षा पूर्ण नहुने होटेल म्यानेजमेन्ट सङ्कायका प्रमुख पोषणबाबु श्रेष्ठ बताउँछन् । ‘यस विषयमा सिप जान्नु महत्त्वपूर्ण हुन्छ’, उनले भने, ‘सिद्धान्त मात्र पढेर सिप नसिकिने भएको हामीले प्रयोगात्मक पक्षलाई पनि जोड दिने गरेका छौँ ।’ यही बुझेर होला, यहाँ होटेल म्यानेजमेन्टमा विद्यार्थी र अभिभावकहरूको आकर्षण बढेको छ । होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूको सङ्ख्या यहाँ हरेक वर्ष बढ्दै गएको छ ।

होटेल म्यानेजमेन्टका विद्यार्थीहरूलाई बारिस्टा, बारटेन्डिङ, बेकरी, पुष्प सजावट, व्यक्तित्व विकास, वक्तृत्व कलाजस्ता विषयमा अतिरिक्त कक्षा र प्रशिक्षण प्रदान गर्ने गरिएको होटेल म्यानेजमेन्ट सङ्कायका प्रमुख श्रेष्ठले जानकारी दिए । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका अतिथि प्रशिक्षकहरूलाई बोलाएर पनि बेला–बेलामा विभिन्न विषयमा तालिम दिने गरिएको उनले बताए ।

विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न तारे होटेल, उद्योग र बैङ्कहरूमा पनि भ्रमणमा लैजाने गरिएको छ । विज्ञान र कम्प्युटर म्यानेजमेन्टका विद्यार्थीहरूका लागि पनि यहाँ सुविधा सम्पन्न र एसीयुक्त आधुनिक प्रयोगशालाहरू छन् ।

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शैक्षिक संस्था हो । शिक्षाको मूल उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास हो । विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास नै शिक्षाको मूल उद्देश्य हो । धरान मेघा कलेजले पनि यसैलाई मूल मन्त्र ठानेको हुँदा विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले बताए । 

२०६१ सालमा धरान–१२ को चतरा लाइनमा स्थापना भएको मेघा कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको छ । अहिलेको समयमा बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउनु आवश्यक भएको हुँदा गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको एकेडेमिक डाइरेक्टर घिमिरेको भनाइ छ । हुन पनि मेघा कलेजका विद्यार्थीहरूले हरेक वर्ष नगर स्तरीय र जिल्ला स्तरीय बास्केटबल, भलिबल, फुटबल, कविता, हाजिरी जवाफ, वक्तृत्वकलाजस्ता प्रतियोगिताहरूमा विभिन्न पुरस्कार हात पारिराखेकै हुन्छन् ।

अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्न कलेजले शिक्षा, खेलकुद, सङ्गीतजस्ता विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ । यसबाट पनि विद्यार्थीहरूले पढाइसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । 

धरानका शिक्षित युवाहरूद्वारा सञ्चालित कलेज भएको हुँदा यसले गुणस्तरीय शिक्षासहित उत्कृष्ट विद्यार्थी उत्पादनमा जोड दिने गरेको छ । त्यसै कारण पनि धरान मेघा कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । धरानकै उत्कृष्ट कलेजहरूमा पर्ने मेघा कलेजमा धरानबाहिरका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गरेका छन् । 

कलेजमा विज्ञान विषयको अध्यापनका लागि पूर्णकालीन शिक्षकहरूको व्यवस्था गरिएको छ । काठमाडौँका विभिन्न लोकप्रिय शैक्षिक संस्थाहरूमा अनुभव प्राप्त गरिसकेका शिक्षकहरूले विज्ञानको अध्यापन गर्छन् । विज्ञान विषयमा छुट्टै शिक्षक राखेर अध्यापन गराइने धरानका हात्तीसार र इन्जिनियरिङ क्याम्पसबाहेक मेघा कलेज मात्रै भएको घिमिरेको भनाइ छ ।  

मेघा कलेजमा होटेल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापन, कम्प्युटर म्यानेजमेन्ट, फुड एन्ड न्युट्रिसनजस्ता सङ्कायमा विद्यार्थीहरूको आकर्षण बढेको छ । घिमिरे भन्छन्, ‘लामो समयदेखि शैक्षिक क्षेत्रमा अनुभव प्राप्त दक्ष जनशक्तिसँगै काठमाडौँका नाम चलेका विभिन्न शैक्षिक संस्थामा १० वर्षभन्दा लामो अनुभव गरिसकेका दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने भएकाले यो कलेजमा विद्यार्थीको भविष्य सुनिश्चित छ ।’ यस विद्यालयमा नर्सरीदेखि नै पठनपाठन हुने गरेको छ । अहिले यहाँ कक्षा ११ र १२ मा ७ सयभन्दा बढी विद्यार्थीहरू छन् । धरानलाई शैक्षिक केन्द्र बनाउने विषय नारामा मात्र सीमित भएकाले व्यावहारिक रूपमै धरानलाई शैक्षिक केन्द्र बनाउन धरान मेघा कलेज लागिपरेको छ ।  

पर्याप्त हावा र प्रकाश छिर्ने फराकिला कक्षाकोठाहरू तथा आफ्नै बास्केटबल कोर्ट हुनु पनि मेघा कलेजको थप विशेषता हो । मेघाको बास्केटबल कोर्टमा अन्य संस्थाहरूले पनि विभिन्न स्तरका प्रतिष्ठित बास्केटबल प्रतियोगिताहरू सञ्चालन गर्ने गरेका छन् । मेघाले बास्केटबल खेलको विकासमा विशेष योगदान दिएको देखिन्छ । मेघा कलेजले धरानको भानु चोकमा पनि बास्केटबल कोर्ट बनाइदिएको छ ।

Megha-cultural