धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आज सोमवार सम्पन्न निर्वाचनमा कुल २ हजार ३४० मत खसेको छ । कुल २ हजार ९०७ मतदाता मध्ये यसपालीको निर्वाचनमा ८० दशमलव ४९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र शर्माले बताए । मतगणना भोली मङ्गलवार बिहान देखी हुनेछ ।
प्रारम्भिक चरणमा राजनीतिक दलहरू तटस्थ रहेको देखिएको थियो । तर अध्यक्ष पदका उम्मेदवार गोपाल श्रेष्ठ एमाले निकट भएतापनि अर्का उम्मेदवार शिवराज श्रेष्ठ एमाले पार्टी धरान नगर सचिवालय सदस्य भएकाले उनैलाई आधिकारिक उम्मेदवारको मान्यता दिएर एमाले पार्टी चुनावमा होमिएको देखियो ।
एमाले निकट सङ्घका पूर्व अध्यक्षहरू, अग्रज व्यवसायीहरू गोपाल श्रेष्ठको पक्षमा पहिले देखी नै लागेका थिए । चुनावको अघिल्लो दिन सम्म आउँदा एमाले पार्टी लाइन खुलेरै शिवराज श्रेष्ठको पक्षमा लागेपछि नेपाली काँग्रेसले गोपाल श्रेष्ठको पक्षमा देखियो । गोपालको पक्षमा माओवादी पनि देखिए ।
सुनसरी उद्योग वाणिज्य सङ्घको यसपालिको चुनावी नतिजा एमालेको लागि ‘दुवै हातमा लड्डु’ हुँदा हुँदै पार्टी एक पक्षीय बनेपछि प्रतिष्ठाको विषय भएको छ । भोली मङ्गलवार हुने चुनावी परिणाम एमालेको लागि प्रतिष्ठाको चिट्ठा बन्ने भएको हो ।
गोपाल श्रेष्ठको समर्थन गरेका एमाले निकटकै व्यवसायीलाई ‘सिण्डिकेट’ आरोप लगाएको पूर्व अध्यक्ष सरोज श्रेष्ठले अग्रजहरूको अपमान हुने कार्य भएको भनी कडा जवाफ पत्रकार सम्मेलनमा दिएका थिए । यसपालिको चुनावले एकथरी व्यवसायीहरू सङ्घलाई पार्टीको हस्तक्षेपबाट मुक्त राख्ने देखिएका छन् भने एमाले पार्टीकै उम्मेदवार हुनुपर्ने पक्षमा रहेको देखिएको छ ।
व्यवसायी मतदाता कुन पक्षमा रहेछन् भन्ने कुरा भोली देखिने मतगणनाको नतिजाले देखाउने छ । खसेको कुल २ हजार ३४० मत मध्ये वाणिज्य तर्फ १३ सय ९९, उद्योग तर्फ ७ सय ८७ मत, एशोसिएट तर्फ १ सय ३३ र बस्तुगत तर्फ २१ मत रहेको बताइएको छ ।
sunsari chember election