धरान : डिपो माविले धरान अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०८२ प्रतियोगिताको तयारी सुरु गरेको छ ।  
प्रतियोगिता साउन १५ देखी १९ गते सम्म धरान–१८ स्थित डिपो माविको बास्केटबल कोर्टमा सञ्चालन हुने सोमवार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
प्रधानाध्यापक राजकुमार राईले डिपो माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बुको स्मृतिमा प्रत्येक वर्ष आयोजना गर्दै आएको बास्केटबललाई प्रदेश स्तरीय प्रतियोगिता बनाउने प्रयास भइरहेको बताए । 
प्रतियोगिताको विजेतालाई नगद २० हजार, उपविजेताले १० हजार ५ सय र ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिनेछ । मस्ट भ्यालुएबल प्लेयर, हाई स्कोर र राईजिङ प्लेयर ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 
प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने निश्चित  भएको बताइएको छ । प्रतियोगिता आयोजनमा २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता स्वर्गीय लिम्बुका छोरा  सुधीर लिम्बुको आर्थिक सहयोगमा हुने संयोजक खड्ग शमशेर लिम्बुले जानकारी दिए ।  
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी मात्र टिममा सहभागी हुने पाउने छ । प्रतियोगिता धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको संयोजनमा सञ्चालन हुने बताइएको छ ।