धरान : सिटिजन्स बैङ्क धरान शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम, धरानमा आश्रित व्यक्तिहरूलाई खाद्यान्न सहयोग वितरण गरेको छ।

चैत्र २३ गते सोमबार आश्रममा रहेका करिब ३६ जना असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा आश्रमका जिल्ला संयोजक निर्मला दर्लामी मगर तथा बैङ्कका धरान शाखा प्रमुख विष्णु प्रसाद पोखरेलसहित कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै  बैङ्कका शाखा प्रमुख पोखरेलले मानव सेवा नै सबैभन्दा ठुलो धर्म भएको उल्लेख गर्दै बैङ्कले समाजप्रति आफ्नो जिम्मेवारी बोध गर्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले बैङ्कले हरेक वर्ष देशभरका शाखामार्फत निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, सरसफाइ तथा हरियाली प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

सन् २०६४ सालमा स्थापना भएको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले हाल देशभर २०० शाखा, १६९ एटीएम, ३ एक्सटेन्सन काउन्टर र ४२ शाखारहित बैंकिङ सेवा मार्फत करिब २० लाख ग्राहकलाई सेवा दिँदै आएको छ। साथै, फोनपे सँगको सहकार्यमा बैङ्कले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सेवा समेत सञ्चालनमा ल्याएको छ।

बैङ्कले आफ्नो सेवा तथा कार्यसम्पादनका आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मान प्राप्त गर्दै आएको जनाएको छ।