इटहरी : इटहरी उपमहानगरपालिकाले निजी (संस्थागत) विद्यालयलाई अभिभावक र विद्यार्थीको हित विपरीत काम नगर्न आग्रह गरेको छ ।
सम्पूर्ण निजी विद्यालयलाई परिपत्र गर्दै उपमहानगरपालिकाले प्रचलित ऐन कानुन विपरीत विद्यार्थी भर्नाका लागि प्रलोभन देखाउने काम बन्द गर्न आग्रह गरेको हो ।
अभिभावकलाई आर्थिक बोझमा पार्नेगरि विद्यालय परिसरमै स्टेशनरी सामग्री छपाई तथा वितरण गर्ने गरेको प्रति उपमहानगरले सचेत गराएको छ ।
बर्सेनि पब्लीकेसन परिवर्तन गरी हरेक वर्ष नयाँ पुस्तक खरिद गर्न बाध्य बनाएर दुख नदिन निर्देशन दिँदै त्यसतर्फ गम्भीर बन्नुपर्ने बताइएको छ ।शिक्षा महाशाखा प्रमुख रमेश कुमार शाहले गरेको परिपत्रमा उपमहानगरको निर्देशन अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाहीको लागि चेतावनी दिइएको छ ।
इटहरीका निजी विद्यालयले पोसाक तथा स्टेशनरी सामग्रीमा मिलेमतो गरेर अभिभावकलाई खरिदको लागि बाध्य बनाउने गरेको गुनासो बढ्दै गएको छ ।स्टेशनरी पसल नै तोकेर अभिभावकलाई अतिरिक्त शैक्षिक सामग्री खरिद गराउने देखि विद्यार्थीलाई विद्यालयमै खाना खान बाध्य बनाएर पैसा लिने गरेको अभिभावकहरू बताउँछन् ।




























































