धरान: नगरप्रमुख हर्क साम्पाङले योजना सम्पन्न भई भुक्तानी प्रक्रियामा रहेको फायलहरू लेखा शाखाबाटै खोसेर ‘अपहरण’ गरी लगेको उपप्रमुख अईन्द्र विक्रम बेखाले आरोप लगाएका छन् ।
उनले आज शुक्रवार साँझ उपप्रमुख कार्यकक्षमा पत्रकार सम्मेलन आयोजना गरी प्रमुख साम्पाङले असार १६ गते लेखा शाखाबाट ३५ देखि ४० वटा फायल अपहरण गरी खोसेर लगेको बताएका हुन । उक्त फायलहरू योजना सम्पन्न भई लेखा प्रक्रिया पुरा गरी भुक्तानी गर्ने बेलामा लेखा शाखाबाट प्रमुख साम्पाङले ‘अपहरण’ गरेको उपप्रमुख बेघाको भनाई छ ।
उपप्रमुख बेघाले भने ‘नगर प्रमुख आफै तोक आदेश लेखेर प्रमुख प्रशासकीय अधिकृतले सम्झौता र टिप्पणी उठाएर योजनाहरूको अनुगमन भई सकेर लेखा शाखा पुगेको फाईल खोसेर लगेका हुन ।’
उनका अनुसार योजना अनुगमन तथा बजेट निकासाको प्रक्रियाको चटारेमा अनुगमन भैसकेका योजनाहरू भुत्तानी गर्नुपर्ने योजनाहरूका सम्पूर्ण फायल नगर प्रमुखले लेखाबाट खोसेर राखेका छन् ।
नगरप्रमुखले सङ्घ र प्रदेशको सशर्त अनुदान, समपूरक अनुदान, सडक बोर्डबाट आएको बजेट कार्यान्वयन भइरहेको बेला नगर प्रमुखले योजनाको फायल खोसेर आफैसँग रोकेको बताउँदै भने ‘ती फायलहरू प्रमुख प्रशासकीय अधिकृत,लेखा शाखा, उपप्रमुखबाट रोकिएको होइन नगर प्रमुखबाट रोकिएको हो ।’
उनले प्रमुखको यस्तो कार्यले उपमहानगरपालिकालाई गम्भीर असर पुग्नेछ।बेघाले भने ‘आर्थिक वर्ष २०८१/०८२ को क्लोजिङको संवेदनशील घडीमा नगर प्रमुखले फाईल गायब परेका छन् ।’
सङ्घ र प्रदेश सशर्त अनुदान समपूरक अनुदान र सडक बोर्डको योजनाको बजेट असार २४ गते रातको १२ बजे भित्र प्रक्रिया पुरा गरेर बिल भुत्तानी गरिसक्नु पर्दछ नत्र बजेट रकम फर्केर जाने उनको भनाई छ ।
आन्तरिक स्रोत र समानिरणको बजेट मात्र नगर कोषमा रहने भएकाले नगरमै रहने बताउँदै उनले भने ‘सशर्त अनुदान,समपूरक अनुदान, सडक बोर्ड यो बिल भुत्तानी नभए उपमहानगरपालिकाले ब्यहोर्नु पर्ने हुन्छ ।’
फाईल हराएमा च्यातिएमा वा नष्ट भएमा नगर प्रमुख आफैले ५ देखि ७ करोड रुपैयाँ सम्मको योजनाको भुक्तानी रकम जिम्मा लिनुपर्ने बताउँदै उनले भने ‘उपमहानगरपालिकाले जिम्मा लिँदैन ।’
सञ्चारकर्मीले बेघासँग ‘धरान–१६ को बहुभाषिक पाठशाला पछाडिको ग्याबिनको डोर हाजिरको प्रतिशोध त होइन ?’ भनी प्रश्न गर्दा बेघाले भने ‘यस्तो गम्भीर र संवेदनशील घडीमा यस्तो कार्य गर्नु हुँदैन, मेयर साव जिम्मेवार हुनुपर्नेमा गैह्र जिम्मेवार हुनुहुँदैन ।’
उनले धरान–१० नारायण पथको बाटो बन्नु पर्दछ भनेर एकोहोरो लाग्ने मान्छे म हुँ भनी बताउँदै नारायण पथको सडक बनाउनुमा म विरोधी होइन त्यो बाटो निर्माणमा नगरको बजेट विनियोजन भएर सडक बन्नु पर्दछ भन्ने धारण हो मेरो डोजरको चाबी प्रक्रियागत ढङ्गबाट चल्न पर्दछ भन्ने मात्र हो भन्ने आफ्नो भनाई रहेको बताए ।
आव २०८२/०८३को बजेट बन्नु पर्दछ दुई मत छैन :
साउन १ देखीसुरु हुने आर्थिक वर्ष २०८२÷०८३ को बजेट बन्नु पर्दछ भन्ने कुरामा आफ्नो विमति नरहेको उनले बताए ।
बेघाले भने ‘बजेट शून्यताको स्थितिमा जादैछ,उपमहानगरपालिकालाई शून्यतामा लानुहुँदैन भनेर हामी लगातार लागिपरेका छौँ तर नगरप्रमुख संवाद छलफलमा जुटेका छैनन् ।’
उनले भने ‘नगरप्रमुख जिम्मेवार भएका छैनन् ।’ सरोकारवाला निकाय जिम्मेवारी भन्दा दायाँबायाँ हुनुहुने नगरप्रमुख जिम्मेवार भएर छलफल संवाद गरे नगरपालिका बजेट शून्यताको स्थितिमा नजाने उनको भनाई छ ।
उपप्रमुख बेघाले भने ‘राजश्व परामर्श समिति र बजेट निर्माणको पक्षमा र तयारीमा छ, छलफल संवाद भए बजेट चाँडै आउँछ ढुक्क हुनुस् ।’