इटहरी : इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋणीहरूको नाममा सूचना प्रकाशित भएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋणीहरूलाई ऋण तिर्न आउने बारेको २१ दिने सूचना प्रकाशित गरेको हो ।

असार १७ गते मङ्गलवार प्रकाशित सूचनामा २१ दिनभित्र आफूले लिएको ऋण रकमको सावाँ र व्याज भुक्तानी गर्न अनुरोध गरिएको छ। यसअघि २०८१ चैत १ गते ३५ दिने सूचना प्रकाशित गरिएकोमा सबै ऋणीहरू सम्पर्कमा नआएकाले पुनः यो सूचना प्रकाशित गरिएको बताइएको छ ।

आगामी साउन ५ गते सोमबार सम्ममा दायित्व राफसाफ नगरेको खण्डमा प्रदेश सहकारी ऐन, २०७६ को दफा ६६, ६७ र ६९ तथा प्रदेश सहकारी नियमावली, २०७७ अनुसार कारबाही हुने भएको छ ।

धितो भएकाको हकमा धितो र धितो नभएको हकमा कुनै बैङ्क तथा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा अन्य चल-अचल सम्पत्ति रोक्का राखिने र कालो सूचीमा राखी कारबाही गर्न लागिएको हो ।

प्रदेश सहकारी ऐन २०७६ को दफा ८४ को उपदफा २ बमोजिम समस्याग्रस्त घोषित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम फिर्ता गराउनुपर्ने भएकाले ऋण असुल गर्ने प्रक्रिया अगाडी बढाइएको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति (अम्बे कोशी) को राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नम्बर २६५०१०००००४२६००१ मा भुक्तानी गर्न समितिको अनुरोध छ । बैङ्कमा रकम जम्मा भएपछि सक्कलै भौचर सहित समितिको कार्यालयमा स्वयम् उपस्थित भई राफसाफ गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यसअघि सहकारी संस्थाको बचत रकम अपचलनका प्रतिवादीहरूलाई सुनसरी जिल्ला अदालतले तोकेको धरौटी रकम बढाएर उच्चले फैसला गरेको थियो । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु कुमारी लिम्बु (अमृता सुब्बा) सहित १३ जनालाई धरौटी रकम बढाएर लिनेगरि फैसला गरेको हो ।

बचत रकम अपचलनमा जोडिएका प्रतिवादीहरू उपरको सुनसरी जिल्ला अदालतको थुनछेक आदेशलाई उच्चले धरौटी थप गरेको थियो । तत्कालीन अध्यक्ष फडिन्द्र बहादुर पुर्वछाने (मगर)ले जिल्लाको फैसला विरुद्ध उच्चमा रिट दायर गरेका थिए । सोही रिट निवेदन उपर २०८१ साल मङ्सिर ६ गते बिहीबार फैसला सुनाएको उच्च अदालतले मगरलाई पुर्पक्षको लागि थुनामै राख्ने आदेशलाई सदर गरिदिएको थियो ।