धरान: दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपमा रजत पदक बिजेता अवतार श्रेष्ठलाई धरानमा स्वागत तथा सम्मान गरिएको छ । 
भुटानमा भएको प्रतियोगितामा श्रेष्ठ नेपालबाट सहभागी थिए । धरान–१६ का उनलाई धरान फर्किएको बेला आइतबार तीनकुनेदेखि मोटरसाइकल र्‍याली  सहित बजार परिक्रमा गराइयो ।
धराने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक जितेर देशकै गौरव बढाएकोले सम्मान स्वागत गरिएको धरान–१८ का वडाध्यक्ष नरेन्द्र राई प्रवीणले बताए ।
उपमहानगरपालिका कार्यपालिका हलमा श्रेष्ठको सम्मान कार्यक्रममा नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाई सहितले स्वागत गरे ।
रजत पदक विजेता श्रेष्ठले भुटानको अनुभव सुनाउँदै बडिबिल्डिङ ज्यादै खर्चालु भएकोले खेलाडीहरूलाई गाह्रो भएको बताए । उनले प्रोत्साहन गर्न स्थानीय सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए ।  
नगर प्रमुख साम्पाङले आगामी आर्थिक वर्षको बजेटमा बडिबिल्डिङ खेलको विकास तथा प्रवर्द्धनमा रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । उपप्रमुख बेघाले पदक जितेर धरान र देशकै नाम राखेको भन्दै खेलाडी श्रेष्ठलाई बधाई दिए । 
धरान फिटनेस क्लबका सञ्चालक कबिर प्राधानांगले खेलाडी श्रेष्ठको परिचय गराउँदै यसअघि वीरगन्जमा रेन्बो क्लासिकमा गोल्ड मेडल, नवौँ राष्ट्रिय खेलकुदमा गोल्ड मेडल, काठमाण्डौंमा  बुल्सनमा गोल्ड मेडल जितिसकेको जानकारी दिए ।